
काठमाडौं । हाल देशभरको मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा भारी वर्षा समेत हुने भएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
वर्षासँगै बाढी-पहिरोको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।