
काठमाडौं । आज स्थानीय सरकारको रुपमा पालिकाहरुले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने भएकोले आज पालिकाहरु बजेट सार्वजनिक गर्दैछन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पालिकाको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई गरी १२ पालिकाले बजेट पेस गरिसकेका छन् ।
त्यस्तै कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका र मोरङको जहदा गाउँपालिका, मधेस प्रदेश अन्तर्गत महोत्तरीको एकडारा गाउँपालिका, बाग्मती प्रदेश अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिकाले ७ गते, गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको शहीद लखन गाउँपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले असार ७ गते तथा बाग्लुङको बरेङ गाउँपालिकाले ८ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
त्योभन्दा पनि पहिले र सिन्धुलीको मरिण गाउँपालिकाले ५ गते नै बजेट सार्वजनिक गरिसकेकाे छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट कैलालीको जानकी गाउँपालिकाले असार ८ गते र दार्चुलाको दुहुँ गाउँपालिकाले असार ७ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
आजसम्म सार्वजनिक गरेको बजेट असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।
आज कुन कुन पालिकाले बजेट ल्याउन नसक्ने हुन् साँझसम्म मात्रै जानकारी हुनेछ ।