
काठमाडौैं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ६ गते आयोजित योग अभ्यास कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ सरिक भई योग अभ्यास गरेका छन् ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा योग अभ्यासको आयोजना गरिएको हो ।
गृहमन्त्री श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै योग र ध्यानले मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित राष्ट्रसेवक कर्मचारीहरुलाई समेत उर्जा प्रदान गर्ने बताए ।
योग अभ्यासमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललगायत संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुसमेतको सहभागिता रहेको थियो ।