
काठमाडौं । निर्माण सकिएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु–तियान्फु विमानस्थलबाट यात्रु बोकेर पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।
विमानस्थलका अनुसार सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
पहिलो पटक हुन लागेको उडानबाट आउने यात्रुलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती मंगलबार नै पोखरा पुगिसकेका छन् । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।
जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने छन् । उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।