
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एक अर्कालाई सम्मान गर्नुपर्ने बताएका छन् । मन्त्री किरातीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको समेत दाबी गरे ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किरातीले आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै भने, “कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपालको ऊन, नेपालको छाला भारत निर्यात हुने गर्थ्यो । पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।”
मन्त्री किरातीले नेपाल सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा आफू रहेको बताए । महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी समेत किरातीले दिए ।