
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको मुहानको अवलोकन गर्नुभएको छ । शनिबार प्रधानमन्त्री प्रचण्ड पहिरोबाट क्षतिग्रस्त मुहान पुग्नुभएको हो । अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्रीले भन्नुभयो, “आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइँन, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गुर्छ ।” प्रधानमन्त्री मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए ।
प्रधानमन्त्रीले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ ।”
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । नेपालमा मनसुन प्रवेश गरेसँगै फेरि मेलम्चीको पानी आउन नसक्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्री मुहान पुग्नुभएको हो ।