काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । शुक्रबार विहान संसदीय सुनुवाइ समितिले बैठकले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
समितिमा दुई दिनको सुनुवाइ भएको थियो । कार्कीले बिहीबार कार्कीले कार्ययोजना पेश गरेका थिए । उनले आज प्रश्नको सामना गरेका थिए । त्यसपछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।
समितिमा कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका थिए । “मलाई लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु । मैले ४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु” कार्कीेले भनेका थिए ।
कार्कीले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणका लागि लागेको भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागिरहने दाबी गरेका छन् ।
यसैबीच कार्कीलाई प्रधानन्यायाधीशको सपथको तयारी भइरहेको छ । राष्ट्रपति कार्यालयले पत्र समयमै पुगे आजै शपथ गराउने जनाएको छ ।