
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसिया विवादित आइरन चक्की प्रकरणको भुक्तानीको लागि रातदिन दिन दौडिरहेका छन् । लेखाले नमानेपछि अधिकार लिएर भुक्तानीको फाइल बोकेर चौरसिया विभागदेखि मन्त्रलयसम्म दौडिरहेका छन् ।
बजार मूल्यभन्दा दोब्बर बढीमा गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की खरिद गरेर करिब १२ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले उक्त प्रकरणबारे विभागका अधिकारीसँग बयन लिइरहेको छ । आइरन चक्की प्रकरणबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले पनि चाँसो व्यक्त गरेको थियो ।
भुक्तानीको फाइल बोकेर चौरसिया आफै विभागका महानिर्देशक, कानुन शाखा, औषिध व्यवस्था विभागको प्रयोगशाला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दौडिरहेको विभागका एक अधिकारीले बताए । यसबारे बुझ्न खोज्दा चौरसियाले फोन अफ गरेका छन् ।
विभागले बजारमा ३० पैसा पाइने आइरन चक्की ८५ पैसा खरिद गर्नेगरी नोभा जेनिटिका कम्पनीसँग सम्झौता गरिएको थियो । स्वास्थ्य क्षेत्रमा दोस्रो ओम्नी काण्डको रुपमा चर्चा भइरहेका उक्त प्रकरण जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह र चौरसियाको योजनामा रचिएको हो । विश्व बैंकको ऋण सहयोग रकमबाट आइरन चक्की खरिद गरिएको हो ।
विभागले सेटिङमा गरिएका खरिद सम्झौताबारे अख्तियारले छानविन गरिरहेको छ ।
को हुन चौरसिया ?
एकीकृत चिकित्सा अध्ययन गरेका चौरसिया विना दरबन्दी विगत चार वर्षदेखि विभागको खरिद शाखा प्रमुखको रुपमा कार्यरत छन् । उनीमाथि विभागमा रहेर स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
स्वास्थ्य सेवा ऐनअनुसार पब्लिक हेल्थ अध्ययन गरेको कर्मचारीको दरबन्दी रहेको स्थानमा शक्तिकेन्द्रलाई प्रभावमा पारेर चौरसिया विगत चार वर्षदेखि कार्यरत छन् ।
चौरसिया चारित्रिक रुपमा पनि पतित् भएको पाइएको छ । नेकपा एमाले नेता खगराज अधिकारी स्वास्थ्यमन्त्री भएको बेला काभ्रे जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा एकजना जापनिज स्वास्थ्य स्वयम्सेविकालाई यौन दुव्र्यवहार गरेका थिए । उनले काठमाडौँस्थित जापनिज दूतावासलाई दुव्र्यवहार गरेको भन्दै कारवाहीको माग गरेकी थिइन् । दुताबासले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर जानकारी मागेको थियो । मन्त्रालयले चौरसियालाई कारवाहीस्वरुप ११ महिना विना विभागीय बनाएको थियो ।
सिन्धुली जिल्ला जनस्वास्थ्य प्रमुख हुँदा चौरसियाले फेरि अर्को घटना घटाए । जिल्लास्थित एक वामपन्थी नेताकी श्रीमतिलाई यौनजन्य हिंसा गरे । उनले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिन् । चौरसियाले ३ लाख रुपैयाँ जरिवाना तिरे र ति महिलालाई करारमा जागिर लगाएर रातारात जिल्ला छोडे । फेरि उनी मन्त्रालय तानिए ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा शक्तिकेन्द्रलाई रिझाएर विभागको खरिद शाखामा पुगेका थिए । बीचमा केही समय शाखा बदलिए पनि लामो समयदेखि खरिद शाखा प्रमुखको रुपमा कार्यरत छन् ।