
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अकुत सम्पती आर्जन गरेको भेटिएको छ । पोखरेल स्वास्थ्य सचिव भएपछि नीतिगत भ्रष्टाचार, स्वास्थ्य समाग्री खरिद प्रक्रियामा सेटिङ, सरुवा–बढुवा र विभिन्न सप्लायर्ससँग कमिसन खाएर २५ करोडभन्दा बढी अकुत सम्पती आर्जन गरेको भन्दै सम्पति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
सचिव पोखरेलले मन्त्रालयका जुनियर कर्मचारीसँग घुस खाएर कार्यकारी पदमा लैजाने र सेटिङमा स्पेकलक गरेवापत मोटो रकम संकलन गरी नीति तथा योजना शाखाका निर्देशक डा. कृष्ण पौडेल र गुणस्तर महाशाखाका निर्देशक डा. मदन उपाध्यायको गाडीमा प्रयोगमा गर्ने गरेको दाबी गरिएको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा काठमाडौँस्थित गौरीघाटमा ससुरालीको घरमा बस्दै आएका पोखरेलले सचिव भएपछि सुनाकोटीमा घर किनेका थिए । अहिले त्यही घरमा बसिरहेका छन् ।
सरकारी सेवाको दुरुपयोग गरी सचिव पोखरेलले अकुत सम्पति आर्जन गरेको भन्दै विभागसँग कारवाहीको माग गरिएको छ । उजुरीमा सचिव पोखरेलले यसरी सम्पति जोडेको उल्लेख गरिएको छ ।
१. ललितपुरको सुनाकोटीमा दुई रोपनी जग्गासहित ६ करोड बराबरको सुविधा सम्पन्न घर ।
२. भरतपुर अस्तालका मे.सु. डा. कृष्ण पौडेलमार्फत चितवनमा तीन कट्ठा जग्गा ।
३. स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अन्तरगत आपूर्ती शाखा प्रमुख डा. सुरेन्द्र चौरसियामार्फत विरगञ्जमा चार करोड मूल्य बराबरको घर खरिद ।
४. डा. पोखरेलकै नाममा रहेको एक करोड ५० लाखभन्दा बढी मूल्यको टोयटाको RAV4 जीप, जसको नम्बर बा. १३ च. १४११ रहेको छ ।
५. अमेरिकामा छोराछोरीको नाममा नेपाली रुपैयाँ १० करोडभन्दा बढी मूल्यको भिल्ला (घर) खरिद गरेको छ ।
यस विषयमा अनलाइन डबली डटकमले जिज्ञासा राख्दा सचिव पोखरेलले आफूले अकुत सम्पति आर्जन नगरेको दाबी गरे ।
विवादित आइरन चक्की प्रकरण पनि सचिव पोखरेलकै योजनामा ११ करोड अनियमितता भएको आरोप पनि लागेको छ ।