
काठमाडौँ । एक नम्बर प्रदेशमा मात्रै बाँकी रहेको नेकपा एमाले नेतृत्वको प्रदेश सरकार पनि अल्पमतमा परेको छ । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारको भविश्य संकटमा परेको हो ।
मुख्यमन्त्री कार्कीले आफू खुशी नीति तथा कार्यक्रम र बजेट निर्माणमा लागेपछि माओवादीले समर्थन फिर्ता लिएको हो । त्यस्तै, नागरिकसम्बन्धी विधेयकलगायतका विषयमा एमाले र माओवादी केन्द्रका नेताहरु एकमत हुन सकेको थिएनन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलको तर्फबाट विशेषमा सांसद गणेश उप्रेतीले बोलेलगत्तै प्रदेश सभामा संघीय संसदमा उठेका विषयहरू र अदालतमा पुगेको विषय उठाइएको भन्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नियमापत्ति गरेका थिए । त्यसपछि एमाले र माओवादीबीच खटपटले उग्र रुप लिएको थियो ।
आजको बैठकमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले महालेखाको प्रतिवेदन प्रदेशसभामा पेस गरेका थिए ।
प्रतिवेदन प्रदेश सभामा पेस भएपछि अर्को बैठक अनिश्चितकालको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराएका थिए ।
प्रदेशसभाको बैठक अनिश्चित भएसँगै बजेट, नीति तथा कार्यक्रम नै अन्यौलता पर्ने देखिएको छ । ढिलोमा प्रदेशले असार १ गतेसम्म बजेट ल्याइसक्नु पर्ने कानूनी प्रावधान छ । २४ गते कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने तयारी भएको थियो ।