
धनगढी । आजदेखि सुदूरपश्चिम तिनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सुदूरपश्चिम मात्रै नभएर देशकै पर्यटकीय स्थल खप्तडमा हुन सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने तयारी भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका पर्यटनमन्त्री रमेश धामीले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । रामदेव-बालकृष्णको टोली धनगढी पुगेको र प्रधानमन्त्री काठमाडौंबाट उड्ने तयारीमा रहेको धामीले बताए ।
धामीले अपेक्षा गरेभन्दा पनि धेरैको सहभागीता हुने बताए । खप्तड विकास समितिले पाँच सयको स्टेमेड गरेपनि १५ सय मानिसहरु खप्तड पुगिसकेको मन्त्री धामीले जानकारी दिए ।
योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने आयोगजकले जनाएको छ ।
आज सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।