काठमाडौं । पाल्पाको केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार जिल्लाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा भएको उक्त दुर्घटनामा घइते एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पाल्पा प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । योसँगै मृतकको संख्या चार पुगेको छ ।
घटनास्थलमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतमको मृत्यु भएको थियो ।
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा ११ जना घाइते छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।