
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले कसैले चाहदैमा गणतन्त्र नउल्टिन बताएका छन् । उनले जनताको लामो त्याग र बलिदानबाट अढाई बर्षको राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउँदै कसैले चाहदैमा सजिलै व्यवस्था नउल्टिन दाबी गरे ।
संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीकै कारण व्यवस्था बदलिएपनि जनताको अवस्था झनझन नाजुक बन्दै गएको बताए । उनले नेपालमा समाजवादी अर्थव्यवस्था नभएसम्म बेराेजगारी झन बढ्ने बताउँदै सबैले वित्तीय एकाधिकार दलाल अर्थव्यवस्थाका विरुद्ध लड्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै गुरुङले “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहान, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धीमूलक हो । यसबाट दुबै देशले फाइदा लिन सक्नुपर्छ” गुरुङले भने ।
महासचिव गुरुङले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको अर्को विकल्प नभएको बताए । संसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।
राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।
“नेपालमा वित्तीय एकाधिकार पुँजीपति वर्गले परनिर्भरतातिर धकेलिरहेको छ । यसले राष्ट्रिय स्वाधिनतालाई बलियो हुन दिँदैन । लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउछ कि भन्ने चिन्ता भएकै कारण केही व्यक्तिले विरोध गरिरहेका छन् । गणतन्त्रको विरोध जनताले गरेका होइनन्, अस्थिरता निम्त्याएर नेपालीलाई परनिर्भर बनाउँने वित्तीय दलालको स्वार्थमा हो” गुरुङले भने ।
संचारकर्मीको प्रश्नको जिज्ञासामा बोल्दै गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको बताए । सरकारले छानविन गरेर दलालमा पेश गरेको र अदालतले हेरिरहेको बताउँदै गुरुङले दोषीलाई सरकारले नछोड्ने र निर्दोशलाई नफसाउने बताए । शरणार्थी प्रकरण गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उन्मुक्ति दिन नहुने आफ्नो पार्टीको धारणा भएको गुरुङले बताए ।