
काठमाडौं । प्रधानमन्त्री प्रचन्डले आफू नास्तिक भएको तर सबै धर्मलाई सम्मान गर्ने बताएका छन् । चारदिने भारत भ्रमण सकेर स्वादेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले नास्तिक हुनुको अर्थ कुनै धर्मको अपमान गर्नु नभएको बताए । राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफूलाई पत्नीलाई सन्चोको कामना गर्दै गेरुवस्त्र लगाएको भन्नु निच सोँच भएको बताउँदै पत्नी सिता दाहालको सन्चो नहुने रोग भएको कुरा सबैलाई थाहा भएपनि त्यस्तो प्रचार गरेर भ्रमणका उपलब्धीलाई छायामा पार्ने प्रयास गरेको बताए ।
भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसँग तीन पटकसम्म वान टु वान वार्तापछि ७ बुँदे सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखडसँगको भेटमा सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भएको बताए ।
भारत भ्रमण विगतभन्दा निकै फलदायी भएको बताउँदै सीमालगायतका विषयमा समस्या समाधान गर्न मोदी तयार भएको बताए ।
त्यसैगरी भ्रमणको क्रममा प्रचण्ड र मोदीले भर्चुअल माध्यमबाट कुर्था बिजलपुरा रेलमार्गको हस्तान्तरण, भारतको जोगबनी देखि नेपालको विराटनगर कस्टमस् यार्डसम्म कार्गो रेलसेवाको संचालन, भैरहवा – सुनौलीस्थित एकीकृत जाँचचौकीको शिलान्यास, नेपालगञ्ज-रूपैडियास्थित एकीकृत जाँचचौकीको उद्घाटन, मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माणकार्यको शिलान्यास, बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशिय प्रशारण लाइन उद्घाटन र शिलान्यास भएको प्रधानमन्त्रीले जानकारी दिए ।
त्यसैगरी नेपाल-भारत पारवहन सन्धी, पेट्रोलियम पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र, दोधारा-चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र, फुकोट-कर्णाली ४८० मेघावाट जलविद्युत परियोजना विकास सम्बन्धी समझदारीपत्र, तल्लो अरुण ६६९ मेघावाट जलविद्युत परियोजना सम्बन्धी परियोजना विकास सम्झौता, नेपालको नेशनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कम्पनी इण्डिया लिमिटेड बीच सीमापार विद्युतीय भुक्तानी सम्बन्धी समझदारीपत्र र नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थान बीच समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीले जानकारी दिए ।