
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दाहसंस्कार गरिरसकेको राजतन्त्रको राँकेभूतबाट नतर्सिन आग्रह गरेका छन् । भट्टराईले मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।
गणतन्त्र दिवस नजिकिँदै गर्दा देशमा विद्यमान अर्थ-राजनीतिक संकट र जनताको असन्तुष्टीको धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै मृत निरंकुश राजतन्त्रको भुत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो कि भन्ने भ्रम पैदा गर्न खोजिनु विडम्बनापूर्ण भएको बताएका छन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्- ‘हो, हामीलाई यतिले पुगेको छैन । लोकतन्त्र अझै उन्नत बनाउनु छ । विकास/समृद्धिको चुचुरो चुम्नु छ । भ्रष्टाचार निर्मूल गर्नु छ । त्यसैले अतितमुखी हैन, भविष्यमुखी बनौं । इतिहासको नदी उल्टो बग्दैन भन्ने बुझौं । दाहसंस्कार गरिरसकेको राजतन्त्रको राँकेभूतबाट नतर्सौं । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढौं ।’
‘वर्तमान नेपाल राज्य बनेर राजतन्त्रले (राणातन्त्र समेतले) नेतृत्व गरेको २०० वर्षमा समान अवस्थामा रहेका विश्वका अधिकांश देश विकास/समृद्धिको चुचुरोमा पुगिसक्दा हामीलाई विकासको पिँधमा कसले थचारेको हो ? निरंकुश राजतन्त्रको ‘स्वर्णकाल’ भनिने सन् १९६०–९० को ३० वर्षको विकास (प्रतिव्यक्ति GDP $50बाट$185) र त्यसयताको आंशिक र पूर्ण लोकतन्त्र/गणतन्त्रको ३० वर्षको विकास ($185बाट$1139) मात्र हेरे बुझिन्न र ? पहिले जनताको मुख थुनिएको र रैती बनाएको कालखण्ड र अहिले भूइँतहका जनताले समेत छाती फुलाएर बोलेको र सार्वभौम नागरिक बनेको कालखण्डको भेद स्वतः स्पष्ट छैन र ? अनि हिजो राजदरबारले देशको पूरै सम्पत्ति दैवी शक्तिको आडमा संविधान/कानूनमाथि बसेर वेरोकटोक भोग गरेको तर जनताले थाहासम्म पाउन नसकेको र अहिले लोकतन्त्रमा केही मान्छेले कानून छलेर भ्रष्टाचार गरेको तर तिनलाई कानूनले समातेर खोरमा राखेको उस्तैउस्तै हो ? आज राष्ट्रपति, प्रम, पूर्व प्रमहरूलाई निर्धक्क भन्नु/नभन्नु र गर्नु/नगर्नु गर्न पाइएको छ तर के हिजो राजा त के उनका हुक्के बैठकेहरूलाई समेत कर्के नजरले हेर्न र उनका विरूद्ध कानेखुसी गर्नसम्म पाइन्थ्यो/सकिन्थ्यो ? अनि हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो ? पक्कै हैन’ डा. भट्टराईले लेखेका छन् ।