
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दश वर्षको जनयुद्धको बलमा आएको वर्तमान व्यवस्थामै बसेर गणतन्त्र र माओवादी विरुद्ध बोल्नुको कुनै तुक नरहेको जिकिर गरेकी छन् । शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको प्रतिष्ठान प्रदेशको वार्षिक साधारण सभामा सो जिकिर गरेकी हुन् ।
प्रधानमन्त्री प्रचण्ड र परिवर्तनकारी शक्तिमाथि संसद भित्र र बाहिर निरन्तर प्रहार हुनु भनेको उपलब्धिलाई संस्थागत हुनबाट रोक्ने योजनाबद्ध षड्यन्त्रको संज्ञा दिदै मन्त्री शर्माले भनिन,“जनविरोधीहरुले सीमा नाघेर बोल्न थाले सबैले एकजुटभएर प्रतिबाद गर्नुस् ।”
सत्ता संचालन गर्नेहरुले गरेका गल्तिहरुलाई आधार बनाएर व्यवस्थामाथी प्रहार हुन थालेको बताउँदैै मन्त्री शर्माले माओवादी सत्तामा आएपछि व्यापक सुधार भएको बताईन् । २०६४ पछि र त्यस अघिको नेपाली समाज अनि विकासको तुलना गर्न चुनौति दिन्छु कि हामीले गालि खाने होकी जनताबाट स्याब्बासी पाउने हो ।
माओवादीले लडेर,दुःख गरेर ल्याएको व्यवस्थामा अरु विचौलिया भएर बस्ने अवस्थाको परिणाम व्यवस्था बदलिए पनि अवस्थामा उल्लेख्य बदलाब नआउनु स्वभाविक भएको धारणा राखिन् । वर्तमान सरकारले गरेका सकारात्मक कार्यको आवश्यक प्रचारप्रसार नभएकोले प्रेस सेन्टर कर्मीले त्यसमा भूमिका खेल्न आग्रह गर्दै भनिन्,“म सरकारको औपचारिक प्रवक्ता भएपनि असली प्रवक्ता तपाईहरु बन्नु पर्यो राजनीतिक उपलब्धि जोगाउन व्यवस्थितरुपमा नागरिक पत्रकारीतामा जोड दिनुपर्यो ।”
विज्ञापन वोर्डले मन्त्रालय र सम्बन्धित निकायसँग छलफल नै नगरी विज्ञप्ति निकालेको प्रसंगलाई इंगित गर्दै,सञ्चार मन्त्रालय अन्तरगतका अंगहरुले निरन्तर असहयोग गरिरहेकोप्रति मन्त्री शर्माले रोष प्रकट गरिन् । लोककल्याणकारी विज्ञापन जेठ १५ गतेदेखि नदिने भन्ने साँचो भएको तर नदिने भन्ने होइन भन्दै मन्त्री शर्माले भन्“ित्यसमा विज्ञप्ति निकाल्ने कुरा गलत हो । सरोकार वाला पक्षसंग छलफल गरेर अघि बढ्ने कुरा हो, यसमा सरासर सरकार विरुद्धको तुस देखिन्छ ।”
आफूहरुले नेतृत्व गरेको मन्त्रालयमा निरन्तर असहयोगका बाबजुद पनि श्रमजीवी तथा स्वरोजगारमूलक मिडियाका पक्षमा काम गरिरहेको बताउँदै, नीति तथा कार्यक्रममा ल्याएका विषयहरु कार्यान्वयन गर्न पनि दबाब दिन जरुरी छ उनले थपिन् ।
प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालले विज्ञापन बोर्ड श्रमजीवी तथा स्वरोजगारमूलक मिडियाको हितको लागि स्थापना गरिए पनि उ आफ्नो कमाउधन्दामा लागेको आरोप लगाए । जेठ १५ देखि लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी नगर्ने भन्ने विज्ञप्ति निकालेर वर्तमान सरकार विरोधी एजेण्डा तयार गरेकोसमेत आरोप लगाउँदै भने,“सरकारले नीति तथा कार्यक्रम श्रमजीवी पत्रकारका हितमा ल्याएको विषय ओझेलमा पार्न त्यस विरोधी वातावरण कसको आदेशमा तयार पार्दैछ विज्ञापन वोर्ड ।” समानुपातिक तवरले विज्ञापन वितरण गर्ने भन्ने नीति विपरित हाले वोर्डले एजेन्सी मार्फत दिने निर्णय झनै घातक भएको बताउँदै भने,“कमिसनको लागि गरिन्छ भने विज्ञापन वोर्ड खारेज गरिनु पर्छ ।”
नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष सरल सहयात्रीले जनताको आँखाकोरुपमा रहने मिडिया जगतले सरकारका राम्रा कार्यको प्रशंसा र नराम्राको भण्डाफोर गर्नु पर्ने धारणा रखे ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले हरेक प्रेस सेन्टरकर्मीले सरकारका राम्रा कार्यको प्रचारप्रसारमा घनिभूतरुपमा लाग्न निर्देशन दिए ।
सो संगठनका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवालीले सञ्चार मन्त्रालय माओवादी नेतृत्वमा भएपनि त्यसैको मातहतमा रहेका विभागहरुले सरकार विरुद्ध कार्य गरेको भन्दै नेतृत्व परिवर्तन गर्न हिम्मत गर्नुपर्ने धारणा राखे । संगठनका अर्का उपाध्यक्ष ओपेन्द्र शर्माले संगठनका हरेक सदस्यले सरकार विरोधी मिडिया क्याम्पियन विरुद्ध कलम चलाउन सुझाए ।
नेपाल पत्रकार महासंघका लेखासमिति संयोजक लेखनाथ न्यौपानेले सरकारले श्रमजीवी मैत्री कार्यक्रम ल्याउने तर विज्ञापन वोर्ड भने सरकारको विरुद्धमा कदम चाल्ने गरेको आरोप लगाए । न्यौपानेले विज्ञापन वोर्डको नेतृत्वले सरकार विरोधी एजेण्डा सेटिङ गरेको भन्दै अध्यक्ष लक्ष्मण हुमागाईको राजीनामा माग गरेका छन् ।
प्रतिष्ठानका इन्चार्ज विदुर खड्काले साधारण सभामार्फत श्रमजीवीहरुको हित कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत हुने बताए । अध्यक्ष विरेन्द्र ओलीले सरकारले गरेका राम्रा कामको प्रचार प्रसारका आवश्यकता रहेको धारणा राखे ।
साधारण सभा उद्घाटन समारोहमा प्रतिष्ठान प्रदेशका संस्थापक अध्यक्ष रमेश लम्साललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।