
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आजसंचारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने बताएकी छन् । उनले कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै शर्माले भनिन्, “पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।”
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्।
मन्त्री शर्माले आजको दिन संचार क्षेत्रको गौरवको दिन भएको बताउँदै भनिन्, “यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।” राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको छ ।