
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेकै हुन् ? गृह जिल्ला अर्घाखाँचीबाट काठमाडौँ आउँदै गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ । यसअघि उनका छोरा सन्दीपलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको थियो ।
एमाले सचिव रायमाझीलाई प्रहरीले काठमाडौँ ल्याउने तयारी गरेको बताइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएको थियो । प्रहरीको माग अनुसार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त प्रकरणमा छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको सार्वजनिक भएको थियो । प्रहरीले सन्दीपलाई बुधवार नै पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।
यसअघि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।