
काठमाडौँ । कोरियन एयरलाइन्सको भाडाको नाममा लुट धन्दा चलिरहेको छ । दक्षिण कोरिया – काठमाडौँ सिधा उडान गरिरहेको एयरलाइन्सले भाडा दोब्बर बढाएर लुट धन्दा चलाएको हो ।
कोरोना कालमा चाटर्ड उडान गरेको कोरियन एयरलाइन्सले अहिले नियमित उडान भरिरहेको छ । कोरियन एयरलाइन्सको जिएसए यूनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रा.लि. ले ईपीएस प्रणालीमार्फत कोरिया गइरहेका नेपाली कामदारसँग महंगोमा टिकट बेचिरहेको छ ।
कोरियन एयरलाइन्सले काठमाडौँमा हप्तामा चारवटा उडान भर्दै आइरहेको छ । तीनवटा उडानमा ईपीएसमार्फत कोरिया जाने कामदार लिँदै आएको छ । एक उडानमा करिब १५० जना कामदार गइरहेका छन् ।
युटीटीले ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदार कोरियन एयरलाइन्सबाट मात्रै जान पाउने गरी सरकारसँग सम्झौता गरेको छ । सिण्डिकेट खडा गरेर युटीटीले अवैध रुपमा चर्को असुली गरिरहेको गुनासो पीडित कामदारहरु बताउँछन् । कोरोनाअघि ट्रान्जिट भएर जानेभन्दा दोब्बर बढी भएको कामदार बताउँछन् ।
कोरोनापछि कोरियन एयरलाइन्सको तर्फबाट युटीटीले कामदारसँग माघभन्दा अगाडि प्रति टिकटको १२१५ अमेरिकी डलर लिइरहेको थियो । महंगो भाडा लिइरहेको विरोधका स्वर उठ्न थालेपछि माघ ३ गतेदेखि लागु हुनेगरी ईपीएस शाखा र युटीटीबीच एक वर्षको लागि प्रति टिकट ८९५ अमेरिकी डलरमा सम्झौता भएको छ । यसअघि ईपिएस शाखासँग औपचारिक सम्झौता नभएको तर कोरिया जाने सबै टिकट यूटीटीमार्फत नै बिक्री भएको एक कर्मचारीले बताए ।
पहिलेभन्दा भाडादर अहिले घटाईएको छ । ईपीएस शाखा र युटीटीबीच माघ ३ गतेदेखि लागु हुनेगरी सम्झौता गरिएको थियो । यूटीटीका संचालक प्रसार प्रसाईले सबैतिर सेटिङ गरेर अवैध रुपमा बढी असुली गरिरहेको आरोप पीडितले लगाएका छन् ।
ईपीएस शाखा प्रमुख पुष्प कटुवालका अनुसार कोभिडपछि नियमितबाट २०७८ कात्तिकदेखि २०७९ असारसम्म ५ हजार ९४१ र २०७९ साउनदेखि माघ मसान्तसम्म १० हजार ७६२ गरी कुल १६ हजार ७०३ जना कामदार कोरिया गएका छन् । यी सबै कोरिया एयरलाइन्सकै उडानबाट गएका हुन् ।
कोरिया गएका १६७०३ जना कामदारबाट १२१५ का दरले २ करोड २९ लाख ४१४५ अमेरिकी डलर टिकटका नाममा यूटीटीले उठाएको छ । यो नेपाली रुपैयाँ २ अर्ब ६३ करोड ८२ लाख भन्दा बढी हुन आउछ ।
ईपीएस प्रणालीभन्दा बाहिरबाट कोरिया जानेहरुले त झन् महंगोमा तिर्नु परेको छ । यसबारे कोरिया एयरको टिकट हेर्ने युटीटीका एक कर्मचारीले सम्झौताअघि प्रति टिकट १२१५ डलर लिएको स्वीकार गरेका छन् । पहिला कोरोनासम्बन्धी नियमका महंगो भएको समेत बताए ।
ती कर्मचारीले ईपिएसभन्दा अन्य यात्रुले नर्मल टिकटको १ लाख ३२ देखि १ लाख ४० हजारसम्म पुग्ने गरेको बताए । उनले कोरियो हुँदै अन्य देश जाने यात्रुहरु धेरै भएका कारण पनि टिकटको मूल्य बढेको समेत दाबी गरे ।
कोरोना महामारीका कारण २०७६ चैतदेखि कामदार लैजाने प्रक्रिया रोकिएको थियो । काठमाडौं–कोरियाको सिधा उडानबाट मात्रै कामदार लिने कोरियाको सर्तलाई नेपालले स्वीकार गरेपछि २०७८ कात्तिक महिनाबाट कामदार लैजाने प्रक्रिया सुरु भएको थियो ।
कोरिया सरकारले कोभिड–१९ सम्बन्धी सबै नियम हटाईसको छ । पूरै कोरिया खुला गरिएको छ । सिधा उडान अनिवार्य पनि गरेको छैन । कोरियाले सिधा उडान अनिवार्य नगरेको तर युटीटीले कमिसन खेलमा ईपीएस र श्रम मन्त्रालयका केही उच्च अधिकारीलाई गुर्माहमा राखेको छ ।
स्रोतका अनुसार ईपीएस र नेपाल नागरिक उड्डयन प्राधिकरणका केही कर्मचारीसँगको मिलोमत्तोमा यूटीटीले टिकटको मूल्य आफूखुशी तोक्दै आएको छ ।