
काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।
जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।
फाइनल खेलमा नेपालले जितका लागि १ सय १८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रचण्डले खेलाडीहरूालई बधाई दिँदै योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफू व्यस्त भएपछि प्रधानमन्त्रीले खेलाडीहरुलाई हौसला बढाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिविस्थित खेल मैदान जान निर्देशन दिएका थिए ।