
धनगढी । बाजुरा केन्द्र भएर लगातार दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए ।
बाजुरा प्रहरीका अनुसार भूकम्पबाट क्षति भए नभएकोबारे सूचना संकलनको काम जारी रहेको छ ।
पछिल्लो दिनमा बाजुरामा गएका भूकम्पमध्ये यो सबैभन्दा शक्तिशाली मानिएको हो । यो तेस्रो भूकम्प हो । यसअघि वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
विज्ञहरुका अनुसार पश्चिम नेपालमा भूकम्प नगएको लामो समय भएको र बाजुरा आसपासको क्षेत्र भूकम्पको जाेखिम क्षेत्र भएकोले भूकम्प गइरहेका छन् ।
- फाइल फोटो