
काठमाडौँ । तीनवटा संसदीय समितिको नेतृत्व पाउने भएपछि नेकपा एमाले टिआरसीलगायतका विषयमा सहमतिमा आएको छ । सोमबार बालुवाटारमा बसेको तीन दलका बैठकमा एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने सहमति भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने पनि सहमति भएको छ । संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।
संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४÷४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीका अनुसार १० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति छ । विपक्षी दललाई पनि संसदीय समितिमा भागबण्डा दिनु नयाँ अभ्यास भएको बताइएको छ । संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिको नेतृत्व गर्ने छ ।
‘छलफलमा एमालेका अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।