
ललितपुर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“वर्तमान संविधान र निर्वाचन प्रणालीका आधारमा अहिलेको स्थितिमा कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाउने सम्भावना धेरै कम छ । त्यसकारण हामीले यो गठबन्धनलाई पाँच वर्ष नै चलाएर यसको माध्यमबाट जनतालाई सेवा दिने चुनौती छ” प्रचण्डले भन्नुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बिचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकतावद्ध गर्ने प्रयासमा एकहदसम्म आफूहरु सफल भएको बताउनुभयो ।
विगतका वामपन्थी एकता र ध्रुबीकरणको प्रसंग कोट्याउँदै प्रचण्डले एकता र ध्रुबीकरणको प्रक्रियालाई नेता–कार्यकर्ता र जनताले उत्साहको साथ अनुमोदन पनि गरेको बताउनुभयो । उहाँले संसार भरका बामपन्थी बिरोधीको घेराभित्र बसेर दुईतिहाई सरकारको नेतृत्व प्रतिस्पर्धाबाट ल्याउने भन्ने सानो कुरा नभएको समेत बताउनुभयो ।
अहिले पनि कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सही नीति र विचारको आधारमा र भावानात्मक रुपले फेरि पनि एकताको उद्देश्य छोड्नु नहुने उहाँको धारणा थियो । उहाँले बामपन्थी आन्दोलनलाई देशको राजनीतिक आन्दोलनको एउटा मुख्य शक्ति बनाउने उद्देश्यबाट आफूहरु बिचलित नभएको बताउनुभयो ।
“हामी रातदिन यो आन्दोलनलाई कसरी एकताबद्ध बनाएर जाने भन्नेमा लागिरहेका छौं । यसमा सकारात्मक प्रगति पनि भइनै रहेको छ । हामी चाँडै नै एउटा नतिजामा पुग्नेछौं । बामपन्थी आन्दोलनलाई फेरि एकीकृत गर्ने र ध्रुबीकृत गर्नेछौं । विगतदेखि नै विभाजन र टुटफुटबाट शिक्षा लिएर नयाँ आधारमा नयाँ एकता गर्ने बाट नै कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ । विभाजन भएपछि विभाजन मात्रै र एकता भएपछि एकता मात्रै भन्ने हुँदो रहेनछ । यो नेपालको कम्युनिष्ट आन्दोलनको र विश्व कम्युनिष्ट आन्दोलन दुबैमा लागू हुने कुरा रहेछ । अहिले कम्युनिष्ट आन्दोलन भित्र मात्रै होइन देशको समग्र राजनीति र आर्थिक विकासको प्रक्रियामा पनि विचलनको अवस्था छ” प्रचण्डले भन्नुभयो । उहाँले विचार सिद्धान्त मूल्य आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको समेत बताउँदै यस्तो बेला बुद्धिजीविबाट हस्तक्षेप बढ्न जरुरी रहेको बताउनुभयो ।