काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरूलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वाररुपमा जानकारी गराउने जिम्मेवारीसहित सोमबार बसेको बोर्ड बैठकले बुढाथोकीलाई प्रवक्ता नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कला साहित्य सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारू भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत
दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।
मोफसलमा रहेर चलचित्र निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधिहरू नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् । बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, १ गीति एल्बम प्रकाशित छन् ।
अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन ।