
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री नीजि सचिवालयका अनुसार वैशाख ८ गते शुक्रबार बिहान ९ बजे परिषद्को बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार विहान बसेको सभामुखसहित तीन शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।
प्रमुख प्रतिपक्ष एमाले सहमति नआएको कारण संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन । सोमबारको बैठकमा ओलीले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउन र नियुक्तिको लागि सिफारिस गर्न सहयोग गर्ने वचन दिएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन अवस्थामा रहेको छ ।
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।
शुक्रबारको बैठकले कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको छ ।