
काठमाडौं । आजबाट विक्रम सम्वत् २०८० साल सुरु भएको छ । आज नयाँ वर्षको पहिलो दिन । विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइँदैछ । देश विदेशमा रहेका नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहाेरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्ने गर्दछन्।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै नेपालीलाई शुभकामना दिए का छन् । विहान एक शुभकामना सन्देश दिँदै पाैडेलले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएका र यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । प्रधानमन्त्रीले केवल क्यालेन्डर मात्र परिवर्तन नगरि नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने प्रतिवद्धता जाहेर समेत गरेका छन् ।