काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमलाई पाँच बुँदे स्पष्टिकरण सोधेका छन् । सोमबार मन्त्री किरातीले जहाजकाे पाङ्ग्रा बिग्रिएकाेदेखि विमानस्थलमा सामान हराइरहेका गुनासाेकाे बढ्को बेला निमग नेतृत्वलाई पाँचवटा प्रश्न सोधेका हुन् ।
मन्त्री किरातीले दिल्लीमा निगमकाे जहाजकाे पाङ्ग्रा बिग्रेका कारण उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रालगायत सानातिना पार्टपुर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको र आर्थिक भार के कति पर्न गयो भनेर सोधेका छन् ।
निगम नेतृत्वले चित्तबुझ्दो जवाफ नदिए मन्त्री किरातीले कारवााही गर्न सक्ने बताइएको छ ।
यी हुन् पाँच प्रश्नः
१. चार्टर्ड उडानबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।
२. दिल्लीमा निगमकाे जहाजकाे पाङ्ग्रा बिग्रेका कारण उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रालगायत सानातिना पार्टपुर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?
३. काठमाण्डाै–दुबई सेक्टरमा उडानकाे अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?
४. विमानस्थलमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले त्यसलाई नियन्त्रण गर्ने कार्ययोजना के–कस्तो छ ? पेस गर्ने ।
५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पदबहालीपछि ट्विनअटर जहाज कति पटक ‘ग्राउन्डेड’ भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आउँदाे दिनमा यस्तो हुन नदिने कार्ययोजना हुनुपर्छ कि पर्दैन ? पेस गर्ने ।