
काठमाडौं । माइतीघरमा रिले अनसनमा बसेका मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्ने तयारी थालेको छ । मिटरब्याज पीडितसँग वार्ता गरी अधिकार सम्पन्न आयोग गठन गरेको सरकारले पीडितको अर्को संघर्ष समितिसँग वार्ताको तयारी गरेको हो ।
पहिलो समूहसँग वार्ता गरी समस्या समाधानको गृहकार्य भइरहेपनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति’ ले काठमाडौंमा फेरि धर्ना सुरु गरेको थियो । उक्त संघर्ष समितिसँग वार्ता गर्ने गरी सरकारले शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य रहेका छन् भने गृह मन्त्रालयका उपसचिव दीलकुमार तामाङ सदस्य सचिव रहेका छन् । समितिले पीडितसँग वार्ताको लागि समन्वय सुरु गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई चाँडाे भन्दा चाँडाे सम्बोधन वार्ता गरी समस्या समाधानतिर लाग्न समितिलाई निर्देशन दिएका छन् ।