काठमाडौं । आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा चैत्र २९ गतेसम्म चल्नेछ । परीक्षा हरेक दिन विहान ८ बजेबाट सुरु हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जसमा करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्रा रहेका छन् ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।
सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।
पहिलो पटक यस वर्ष जापानबाटै परीक्षार्थीहरु एसईईमा सहभागी हुन पाउने भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका छन् ।