
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो । लिम्बुको निधनपछि आन्दोलन थप चर्किदै गएपछि प्रधानमन्त्री प्रचण्डले आन्दोलनकारीलाई छलफलमा बोलाएका थिए ।
कोशी प्रदेश नामाकरणप्रति असहमति जनाउँदै आदिवासी जनजाती संघ संगठनहरु आन्दोलनमा छन् । आन्दोलनकारीले सरकारले घटनाको छानविन गरी दोषीलाई कारवाही र मृतकलाई सहिद घोषणासँगै परिवारलाई राहत दिन माग गररहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माका अनुसार आन्दोनलकारीको माग अनुसार चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने विहानको छलफलमा प्रधानमन्त्रीले आन्दोलनकारीसँग वचन दिएका छन् ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेका छन् ।
प्रहरीको लाठीबाट घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा निधन भएको थियो ।