आज :

नेपाली टेलिभिजन च्यानल भारतमा सहजै प्रसारण हुने व्यवस्था मिलाउन मन्त्री शर्माको आग्रह

  • अनलाइन डबली

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाला सरकारका प्रवक्ता रेखा शर्माले भारतमा नेपाली टेलिभिजन च्यानलको प्रसारण सहज बनाउन आग्रह गरेकी छन् । उनले भारतीय च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरु भारतमा प्रसारण हुन नसक्ने अवस्था रहेको बताउँदै सहजै प्रसारणको व्यवस्था मिलाउन आग्रह गरिन् ।

भारत भ्रमणको क्रममा बुधबार नयाँदिल्लीमा भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकको क्रममा मन्त्री शर्माले सो कुरा उठाएकी हुन् ।

“भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्दछु । विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुन म आग्रह गर्दछु” मन्त्री शर्माले भनिन् ।

त्यसगरी भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । शर्माले बैठकमा भनिन्, “नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन् । दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।”

नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति ध्यानाकर्षण समेत मन्त्री शर्माले गराइन् ।

रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको आफूूले बुुझेको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन् । यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एक अर्काका विषयवस्तु प्रसारण गर्ने सम्बन्धमा पनि सकारात्मक छलफल अगाडि बढेको आफूूले पाएको स्पष्ट समेत गरिन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उद्घाटन हुनुुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा मन्त्री शर्माले गरिन् ।

“यहाँलाई अवगत नै छ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि धन्यवाद दिँदै सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउन समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु। विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डवीथ प्राप्त गर्न सक्षम हुने गरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ” मन्त्री शर्माले भनिन् ।

हाल नेपालले भारतका सेवाप्रदायकमार्फत् इन्टरनेट ब्याण्डवीथ प्राप्त गर्ने गरेको स्मरण गराउँदै उहाँले नेपालले प्राप्त गर्ने ब्याण्डवीथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा-सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवाप्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डवीथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरिन् ।

भारतले मोबाइल सेवामा फाइभ जी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal