भैरहवा । रुपन्देहीको भैरहवामा मंगलबार बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित नट्स एण्ड अर्गानिक होम, ओम साई केयर ट्रेडर्स, अन्सार जनरल स्टोर्स, राईस किराना पसल तथा वडा नम्बर ६ गल्लामण्डीस्थित सिद्धेश्वर खाद्य स्टोर्स, जय महालक्ष्मी स्टोर्स, देविका किराना स्टोर्स र सुस्मिता किराना पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा एउटा पसलमा खुला रूपमा ड्राई फ्रुट्स विक्री गरिएको, लेबल तथा प्रयोग अवधि उल्लेख नगरिएको, केही पसलको व्यवसाय नवीकरण नभएको र म्याद सकिन लागेका सामानहरू विक्रीका लागि राखिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गल्लामण्डीका केही पसलमा खरीद बिलबिनाका सामान राखिएको पाइएको छ । खरीद बीलबिनाको पेय पदार्थ तथा खुला रूपमा विक्रीका लागि राखिएको चिनीलगायतका सामग्री फेला परेपछि नष्ट गरिएको उनले बताए । त्यस्तै तिहारमा प्रयोग हुने झिलिङ्गा रोटीको प्याकेटमा उत्पादकको विवरण उल्लेख नभएको र प्रयोग मिति १५ महिनासम्म राखिएको पाइएपछि उत्पादकलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उनले बताए ।
न्यौपानेले खुला रूपमा खाद्यवस्तु विक्री नगर्न, उत्पादन तथा प्रयोग मिति स्पष्ट उल्लेख गर्न, व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न र म्याद सकिन लागेका सामान छुट्टै राख्न व्यवसायीलाई भनिएको जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा केही पसलमा मूल्यसूची अद्यावधिक नभएको पनि पाइएको थियो । तत्काल ठूलो जरिवाना नगरी व्यवसायीलाई सचेत गराइएको र आगामी अनुगमनमा पुनः उस्तै कैफियत भेटिए ठूलो कारवाही/जरिवाना गरिने लिखित चेतावनी दिइएको न्यौपानेको भनाइ छ । चाडपर्व लक्षित तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिइने उनले बताए ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थनगर नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलगायतको सहभागीता थियो ।


अनलाइन डबली

