
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिएका छन् ।
मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौँमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दलितले अधिकार मागेर होईन खोसेर प्रयोगमा ल्याउनुपर्ने बताए । संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले पर्याप्त हक, अधिकार नपाएको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताए । उनले भने – ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरू बोल्न पाए ।आज समावेशीको नाममा माओवादीका मन्त्रीमण्डलमा २÷३ जना जनजाति, एक जना दलित, एउटा थारुको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सूत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यति बेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ ।’
‘त्यतिखेर भोट दिने बेलामा, जतिबेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधानसभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईंहरुले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनु भएन । उखान छ, ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ,’ मन्त्री मोदीको भनाई छ ।