काठमाडौं । आज राष्ट्रपति पदको चुनावको लागि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी तालिका अनुसार आज दिउँसो १० देखि ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवन उम्मेदवारी दर्ता गर्न सकिनेछ । संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय खडा गरिएको छ ।
राष्ट्रपति हुनलाई सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको हुनुपर्ने छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
आजै ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । २५ गते मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । त्यही दिन बेलुकी ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिलाई संघीय र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । राष्ट्रपति हुनलाई कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने छ ।
नयाँ गठबन्धनलाई बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको नयाँ माओवादी केन्द्र, नेपाली काँग्रेससहितको गठबन्धन सुविधाजनक बहुमत पुगेको छ ।
नयाँ गठबन्धनमा प्रतिनिधि सभामा रहेका कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । यी सबै दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३१ हजारभन्दा बढी मतभार पाउने सम्भावना देखिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५२ हजार ६ सय २८ मतभार रहेकोमा त्यसको ५१ प्रतिशत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७४५, एकीकृत समाजवादीको २ हजार ५७४, जसपाको १ हजार १४५, जनमतको १ हजार २ सय ४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८९२ र जनमोर्चाको २०६ मतभार रहेको छ ।
गठबन्धन बाहिर रहेका नेकपा एमालेको १५ हजार तीन सय ९१ मतभार छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार पाँच सय एक र राप्रपाको दुई हजार चार सय ५० मतभार तथा नेमकिपाको दुई सय २३ मतभार रहेको छ । स्वतन्त्रको सङ्घमा चार र प्रदेशमा नौ सदस्य गरी सात सय ४८ मतभार छ ।