
काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी को स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।
स्वास्थ्य अवस्था सामान्य बन्दै गएकोले उनलाई सोमबार भेन्टिलेटरबाट निकाल्ने योजना रहेको उपचारमा संलग्न डाक्टर सुनिल केस्वानीले जानकारी दिएका छन् ।
त्यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया गर्नु नपर्ने डाक्टरले जानकारी दिएका छन् ।
गत बुधबार राति काठमाडौंको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।