काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले आज (बिहिबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो र उक्त आईपिओ बाँडफाँट भईसकेको छ ।
कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि र २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको थियो।
बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आजदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको आईपीओमा सर्वसाधारणले फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन १८ गतेसम्म लम्बिनेछ।