 
	
काठमाडौँ । प्रहरीद्वारा चिकित्सक कुटपिटको विरोधमा चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि शुक्रबार राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरी कुटपिट गरेको विरोध गर्दै आइतबार देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु दुखद् रहेको भन्दै चिकित्सक संघले विज्ञप्ती जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
संघले स्वास्थ्य सेवा लिन आएका बिरामीलाई समेत भिआइपी सवारीको नाममा सडक खाली गराउने गर्दा अस्पताल पुग्न नदिएर सास्ती दिएको भन्दै विरोध गरेको छ ।
सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल निवासदेखि बानेश्वरसम्मको सडक खाली गराउने वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।
सडक खाली गराइँदा विद्यार्थी, बिरामी, कर्मचारीलगायत काम विशेषले हिँड्नुपर्ने नागरिकले सास्ती खेपेको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


