
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको सचिवमा बिरेन्द्र रावलले उम्मेदवारी घोषणा गरेका छन् । फागुन २ गतेबाट काठमाडौंमा हुन लागेको २३ औँ राष्ट्रिय महाविधेशनको लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।
लेखा समितिका अध्यक्ष समेत रहेका रावलले विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली विद्यार्थी आन्दोलन विद्यार्थीको हकहित भन्दा अलि टाढा पुग्न लागेको आफूलाई महशुस भएर योगदान दिन उम्मेदवारी दिने बताए ।
अनलाइन डबलीसँग कुरा गर्दै रावलले विद्यार्थी आन्दोलनले सही दिशा लिन नसक्दा शैक्षिक क्षेत्रमा दलालीकरण र माफियाकरण मौलाइरहेको बताए । त्यसको अन्त्य गरेर मात्रै विद्यार्थी आन्दोलन उठाउन सकिने बताए ।
‘विद्यार्थी आन्दोलन नेताहरु अबसरमा पुग्ने भर्याङमात्रै हुने हो की भन्ने चिन्ता विद्यार्थीहरुले गरेका छन् । त्यसको जवाफ दिन सक्ने नयाँ नेतृत्व चयन हुनपर्छ भन्ने विद्यार्थी साथीहरुको माग पनि छ । महाधिवेशन विद्यार्थीको भावनाको सम्मान गर्ने नै छ । विद्यार्थीको मागअनुसारको परिस्थितिसँग एक पटक फेरि सामना गर्न मैले पनि सचिवमा उम्मेदवारी दिएको छ’ रावलले भने ।
विद्यार्थी आन्दोलनमा आफूले रगत बगाएकोले बढी माया भएको बताउँदै आवश्यक परे फेरि पनि त्यस्तो परिस्थितिको लागि तयार भएर आफूले उम्मेदवारी दिएको रावलले बताए । उनले अबको विद्यार्थी आन्दोलन नेताहरुलाईको भर्याङमात्र नभएर शैक्षिक एजेण्डा बोक्ने हुनुपर्नेमा जाेड दिँदै निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन हुनुपर्नेमा जोड दिए ।
आगामी फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।
महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गर्नेछ ।