
काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४० जनाको शव भेटिएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलसहित ४० जनाको शव भेटिएको उद्दारकर्ताले बताएका छन् ।
आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
विमानमा ६८ र चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।
सोही दुर्घटनामा परी नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका उपाध्यक्ष पौडेलको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पर्वत कुस्मामा जन्मिएका पौडेल हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आएका थिए । उनकी श्रीमती र एक छोरा छन् ।