काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत गएका कामदारको तलब बढेको छ ।
नयाँ वर्ष लागेसँगै त्यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने भएका छन् ।
दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ ।
त्यस्तै, ओभरटाइम र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ ।
दक्षिण कोरियाले सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रतिशत तलब बढाएको थियो । साना तथा मझौला व्यवसायीले व्यापक विरोध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो ।
कोरियामा कामदारको तलब बढेसँगै नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले केहि वृद्धि हुने देखिएको छ ।