काठमाडौ । बैंकहरुको निक्षेप ह्वात्तै बढेको छ । एक सातामै वाणिज्य बैंकहरूमा २० अर्ब रुपैयाँ निक्षेप थपिएको हो । उक्त अवधिमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर भने निकै खुम्चिएको छ ।
बैंकर्स संघको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४६ खर्ब ४५ अर्ब रुपैयाँ छ । अघिल्लो शुक्रबार (यही पुस १मा) यस्तो निक्षेप ४६ खर्ब २५ अर्ब रुपैयाँ थियो, तर पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्न थालेपछि बैंकहरूको निक्षेप पनि बढेको जानकारहरुको भनाई रहेको छ ।
गएको साता वाणिज्य बैंकहरुले कर्जा प्रवाहमा भने खासै ध्यान नदिएको तथ्यांकहरूले देखाएको छ ।बैकको मुख्य आम्दानीको स्रोत भनेकै कर्जा लगानी हो । संघको तथ्यांकअनुसार गत साता २६ वटा वाणिज्य बैंकहरूले थप १ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।
जसअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २३ अर्ब रुपैयाँ छ । अघिल्लो शुक्रबार (यही पुस १ मा) यस्तो कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ थियो ।
बैंकहरुले कर्जा प्रवाह बढाउनको लागि देशकै अर्थतन्त्रमा सुधार आउनुपर्ने देखिन्छ । बैंकहरुको बढ्दो व्याजको कारणले कर्जा प्रवाह घटेको अनुमान लगाउन सकिन्छ । अहिले देशको सेयर मार्केट देखि पुरै अर्थतन्त्र खस्किएको छ जसको कारणले ग्राहकहरुले कर्जा लिन सकिरहेका छैनन् । देशमा नयाँ अर्थमन्त्री नियुक्ति भएसँगै सेयर मार्केटमा पनि हरियो झण्डा फहराएको छ । त्यसकारण अब देशको अर्थतन्त्रमा सुधार र बढ्दो व्याजदर न्यूनिकरणमा अर्थमन्त्रिको भूमिका रहनेछ भन्ने आशा ग्राहकमा पलाएको छ ।