काठमाडौं। राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य तत्काल नगर्न निर्देशन दिएको छ। आयोगले आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य नगर्न काठमाडौं महानगरसहित सबै स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायलाई निर्देशन दिएको छ।
आयोगले काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/ नगराउन जारी सूचना भनिएको छ।
यसै गरि सुकुम्बासी तथा भूमिहीनको लगत सङ्कलन गर्न, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका काम गर्न आवश्यक तयारी भइरहेको पनि आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताका कारण आयोगले भदौ ३१ देखि भूमिहीनको लगत सङ्कलनलगायत काम स्थगत गरेको थियो। यस्तै निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै काम सुरु गर्ने पनि भूमि आयोगले जनाएको छ।
राष्ट्रिय भुमिआयोग काठमाडौँका अध्यक्ष श्याम कृष्ण प्रजापति आयोगले जारि गरेको सुचना थापाथलिका सुकुम्बासीको लागि मात्र केन्द्रित नभएको तथा लालपुर्जा नभएका आफुलाई स्वबासि भन्नेका लागि पनि भएको बताउनु हुन्छ ।
लालपुर्जा र निस्सा नभएका स्वबासी आम सर्वसाधारण नागरिक पनि भुमिहिन सुकुम्बासी या अव्यवस्थित बसोबासीको रुपमा रहने उहाको जिकिर रहेको छ ।