
काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको हो ।
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।
त्यस्तै ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् । यस्तै ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।
एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् ।
१३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।