
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ ।
त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए ।
उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ भने जिल्लाभर २० प्रतिशत मत खसेको छ । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ ।
५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता रहेका छन् । यद्यपि निर्वाचन अधिकारीले २५ हजार जति मत खस्ने आकलन गरेका छन् ।
उता मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।