काठमाडौं । काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।
निगम स्रोतका अनुसार जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।
स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।
आइतबार निर्वाचनका कारण उडान छैन । जहाज बन्यो भने सोमबार मात्र नियमित उडान गर्न सकिने स्रोतको भनाइ छ । निगमसँग आन्तरिक उडानमा जहाज नहुँदा टिकट काटेका यात्रु समेत प्रभावित हुने गरेका छन् ।
यसैबीच प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान गर्न दुई दिनमात्र बाँकी छ । अध्ययन, पेसा–व्यवसाय तथा रोजगारीका सिलसिलामा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसेका मतदातालाई सम्बन्धित क्षेत्रका उम्मेदवार तथा दलले धमाधम आफ्नो क्षेत्रमा पुर्याउने व्यवस्था गर्न लागेका छन् ।
काठमाडौं उपत्यकामा विभिन्न पेसा व्यवसाय गरेर बस्ने ७ लाख मतदाता बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । उपत्यका नजिक रहेका जिल्लाका मतदाता भने भोलिसम्म आ–आफ्नो जिल्ला र क्षेत्रमा जाने तयारीमा छन् ।
सबैजसो पार्टीले आफ्ना मतदाता जिल्ला र निर्वाचन क्षेत्रमा पुर्याउन जोडतोडका साथ सक्रियता देखाएका छन् । काठमाडौंबाट मतदाता लैजान विभिन्न जिल्लाका सम्पर्क समितिलाई सक्रिय बनाएको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
पार्टीको सम्पर्क र सम्बन्ध भएका सबै मतदातालाई मतदान स्थलसम्म पुर्याउन सम्पर्क समितिले काम गरिरहेको रिजालले बताए । यस्तै नेपाली कांग्रेसले पनि जिल्ला सम्पर्क समिति र उम्मेदवारले उपत्यकाबाट मतदातालाई सम्बन्धित निर्वाचन क्षेत्रमा लग्ने व्यवस्था मिलाएको छ ।
यस्तै माओवादी केन्द्रका जिल्ला सम्पर्क समन्वय समितिका इन्चार्ज डिलाराज आचार्यले जिल्ला सम्पर्क समिति मार्फत मतदाता जिल्ला जिल्लामा पुर्याउने काम भइरहेको बताए ।
उपत्यकाबाट मतदाता लग्न पार्टीले कुनै खर्चको व्यवस्था नगरेको आचार्यले बताए । जिल्ला सम्पर्क समिति र सम्बन्धित क्षेत्रका उम्मेदवारले यातायात र खानाको व्यवस्था मिलाएको जनाउँदै उनले पार्टीका कति मतदाताले उपत्यका छोडे भन्ने तथ्यांक नभएको बताए ।
तर, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले उपत्यकाबाट मतदातालाई सम्बन्धित जिल्लामा लैजान आफ्नो पार्टीले खर्चको कुनै व्यवस्था नगरेको बताए ।