आज :

एकाबिहानै काठमाडौंका यी दुई ठाउँमा बम भेटियो

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा बम फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले बताए ।

उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’ बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् ।

निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal