जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले ।
काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए ।
प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा गरे । दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहाको खुसीको सीमा थिएन ।
नेहाका ससुरा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवार समक्ष पंकजलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने शर्त राखे । नेहाका अनुसार बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दिए ।
पंकजको परिवारले इंगेजमेन्टका लागि लगन निकाल्यो । पंकजको परिवारले बर्दिबासको गुञ्जा होटलमा इंगेजमेन्ट गर्ने भन्यो । २०७७ फागुन ६ गते उनीहरुको इंगेजमेन्ट भयो । इंगेजमेन्ट भएको एक वर्षपछि २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह गरे ।
नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।श्रृङ्गारका सामानको पसल चलाउने सुरेशको आर्थिक अवस्था छोरीको विवाहमा करोडौं खर्च गर्ने थिएन ।
तर छोरीले मन पराउने, माया गर्ने बताएपछि उनले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर विवाह खर्च जुटाएका थिए । विवाहका लागि दिइएको नगद र सरसमान पंकजको परिवारको इच्छा अनुसारकै थियो ।
विवाहमा करोड बढी खर्च लागे पनि नेहा–पंकज निकै खुसी थिए । उनीहरुको तीन वर्षदेखिको सपना पूरा भएको थियो । श्रीमान एमबीबीएस डाक्टर । काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने । हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका । नेहालाई कुनै चिन्ता थिएन ।
विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरेका थिए । तर दुई महिनापछि पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले । ‘तेरो विहेका कारण अमेरिकामा रहेका मेरा छोरा बुहारी आउन पाएनन् । बिहे सोचेको जस्तो भएन । तैले गर्दा मेरो परिवार एक हुन सकेन’, सासु गोदावरी देवी चौधरीले भन्थिन् ।
विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए । श्रीमान कामका लागि काठमाडौं फर्किए । बिहेअघि नेहाले आफू पनि श्रीमानसँगै काठमाडौंमा बस्ने र पढाइलाई निरन्तरता दिने बताउँदा पंकजले स्वीकार गरेका थिए ।
तर पंकज काठमाडौं फर्किँदा नेहालाई महोत्तरीमै छाडेर फर्किए । सम्झाइ बुझाइ गर्नुको साटो ‘मैले तलाई काठमाडौंमा राख्न बिहे गरेको होइन, घरमा बाआमाको स्याहार गर्नलाई हो’, भनेर धम्क्याएको नेहाले बताइन् ।
नेहा पंकजकी बहिनी रेखासँग महोत्तरीमै बस्न थालिन् । रेखाले हरेक दिन आफ्नो बारेमा सासुससुरा र पंकजलाई अनर्गल कुरा लगाउने गरेको नेहा बताउँछिन् । पंकज घर फर्किँदा नेहाले आफूलाई पनि काठमाडौं लैजान आग्रह गर्थिन् । तर पंकजले आग्रह सुन्नुको साटो नेहालाई गाली गलौज गरेर हातपात गर्थे ।
‘बुबाआमालाई भनेर काठमाडौंमै घर किन, अनि सँगै राखौंला भन्नुहुन्थ्यो’, नेहाले भनिन्, ‘एक दुईपटक त मेरो भाइ र आमालाई पनि पंकजले यो कुरा मेरै समक्षमा भन्नुभएको छ ।’ घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहा बताउँछिन् ।
घरमा नन्द र सासु ससुराले तनाव दिन थालेपछि उनले श्रीमानलाई काठमाडौं लैजान फेरि आग्र्रह गरिन्, कलेज भर्ना गरिदिन भनिन् । तर पंकजले किन पढ्नुपर्यो भन्दै गाली गरेको नेहा सुनाउँछिन् । ‘कलेज पढ्छु भन्दा किन पढ्नुपर्यो, काठमाडौं लैजानुस् भन्दा तेरो बाउले घर किनेर राखेको छ र भनेर उल्टै गाली गर्नुहुन्थ्यो’, नेहा भन्छिन् ।
घरमा सासुले उनलाई मोवाइल चलाउनसमेत रोक लगाएकी थिइन् । पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग बोल्दैनथे । कुटपिट र यातना उस्तै थियो । पंकजको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो । तर रगत बगेको कुरा सुनाउँदा सासुले हाँसेर उडाएको र पंकजले पनि वास्ता नगरेको नेहाले बताइन् ।
पीडा सहन नसकेपछि माइती पुर्याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले नेहाको बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस्’ भनेको उनले बताइन् ।
त्यसपछि आमा र भाइ आएर नेहालाई माइती लिएर गए । त्यहीँबाट मेडिकल गइन् । मेडिकलले उपचार गर्न नसक्ने बताएपछि उनी जनकपुरको अस्पताल गइन् । चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए पनि परिवारको डरले भर्ना हुन नसकेको नेहा बताउँछिन् ।
‘दुई हप्तासम्म दिनको दुईवटा सुई र औषधी लिएर बाँचेकी हुँ, मलाई पंकज र उसको घरपरिवारले पागल करार गरेर मार्न खोज्यो । मन मुटु दिई जिन्दगी सुम्पिएको मान्छेले धोका दियो । मेरो संसार अँध्यारो बनायो’, नेहाले भावुक हुँदै सुनाइन् ।
नेहा माइतीमै बसिरहेकी थिइन् । पंकजले फोन गरेर घर जान भने । नेहाले काठमाडौंबाट फर्किँदा आफ्नो माइतीमा पस्न भनिन्, त्यसपछि सँगै जाने बताइन् । पंकजले मानेनन्, उल्टै नेहाका बाआमालाई फोन गरेर ‘तिम्री छोरीलाई घरभित्र पस्न दिन्न’ भने ।
सासु र ससुराले नेहाको माइतीबाट उनको रिपोर्ट र औषधीसमेत मगाए । केको औषधी खान्छेस् भनेर सासु र पंकजले झम्टिए । पंकजको कुट्दा एक दिन नेहाले मलाई कुटाइ खाएर मर्नु छैन प्रहरीलाई खबर गर्छु भनिन् ।
त्यसपछि झन् अर्धचेत हुने गरी कुटिइन् । हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिदिएको नेहा बताउँछिन् । पंकज र उनकी आमाले नेहाकी आमालाई फोन गरेर तपाईंकी छोरी लैजानुस् भने ।
आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले प्रहरीसमक्ष गई पंकजविरुद्ध ४ कात्तिकमा घरेलु हिंसाको निवेदन दिइन् । चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेद गर्छु भने ।
नेहाले सम्बन्धबिच्छेद चाहेकी थिइनन् । उनले पंकजको खुट्टा ढोगेर बिन्ती बिसाइन् । पंकजले प्रहरीकै सामु नेहालाई कुटपिट गरे, कुनै हालतमा घर नलैजाने बताए । प्रहरीले पंकजलाई दुई दिन थुनामा राख्यो । उनले २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई छाडेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले नेहाले पंकज विरुद्ध घरेलु हिंसा विरुद्धको जाहेरी दिएको बताए । ‘घरेलु हिंसाको मुद्दा दर्ता भएपछि हामीले पंकजलाई दुई दिन थुनामा राखेका हौं । नेहालाई घर लैजान्छु भनेपछि छाडेका हौं’, उनले भने, ‘केटीपक्ष मिलापत्र गर्न तयार छ, तर पंकज र उसको परिवारले मानेको छैन ।’
थुनामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे । ‘मैले दुःख पीडा सहे पनि मिल्न खोजेकी थिएँ । २० गते पछाडि घर लैजान्छु भनेर पंकजले जिन्दगीबाट निकाल्न खोजेका रहेछन्’ नेहाले भनिन् ।
नेहाले पनि पंकजविरुद्ध अंशमुद्दा दिइन् । तर, नेहाले मुद्दा दर्ता गर्नु भन्दा अघि नै पंकजका बाबुले सबै सम्पत्ति छोरीहरुको नाममा बकसपत्र गरिदिएको नेहा बताउँछिन् । ‘सम्पत्तिको लालचले मैले मुद्दा दर्ता गरेकी होइन । कुनै विकल्प नभएपछि यहाँसम्म पुगेकी हुँ’, नेहा भन्छिन् ।
पढेर बैंकमा काम गर्ने सपना थियो नेहाको । तर अहिले न उनको पढ्ने रहर पूरा भएको छ । न त माया गरेको मान्छेसँग सुन्दर संसार बसाउने नै । उनले आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ ।
पंकजले भने नेहाले आरोप लगाए अनुसारको घटना नभएको दावी गरेका छन् । उनले भने, ‘नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार घटना भएको छैन, अदालतमा र प्रहरीमा मुद्दा चलिरहेको छ, म यस विषयमा थप केही बोल्दिन ।’