आज :

बर्षा र सहकालको देवताको बस्ती बुङगमती र रोई रोई बसाएको बस्ती खोकना

  • पदम श्रेष्ठ

पदम श्रेष्ठ –
बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ –( बुङगद्यो ) बिराजमान पूर्वमा फुल्चोकी डाँडा र नख्खु खोला, पश्चिममा ध्यानाचो चम्पादेवी डाडाँ र वाग्मती बीचको बस्ती बुङमती र खोकना ललितपुर चक्रपथबाट ८ कि.मी.दक्षिणमा पर्दछ । असमान ढिस्का र फाँटबीच बुङमति र खोकना राजा अंशुवर्माको राज्यकाल संवत २९ देखि बिशेष चर्चामा आएको बताईन्छ । ती ऐतिहासिक बस्ती मध्ये युएन ह्याविट्याट गैरसरकारी संस्थाको अगुवाई ,आवासको लागि गैह«सरकारी संस्था लुमन्ती लगायतको सहभागितामा भएको बुङगमतिको सम्पदा ,संस्कृति , जात्रा पर्व , कला संरक्षणार्थ भएका गतिविधि बारे जानकारी गराएको थियो । स्थानियहरुको सहकार्य र सहभागितामा यी गैह«सरकारी संस्थाहरुले बहुउदेश्यीय भवन भित्र काष्ठकला तथा चित्रकला संग्रहालय कक्ष निर्माणका साथै काष्टकर्मीहरुले गरिरहने कार्यको प्रत्येक्ष अवलोकन गर्ने , किनबेच गर्न सक्ने ब्यवस्था गरिएको छ ।
कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुहुदै परियोजना प्रमुख अनिल तुलाधरले भन्नुभयो , बुङगमतिमा २०७२ सालको भुकम्पमा ८४६ वटा घर मध्ये ५७६ वटा भत्किएका घरको पुर्ननिर्माण भएको थियो । पुर्ननिर्माणमा अभियानले प्राविधिक सहयोग पुर्याउनुका साथै युरोपियन युनियनमा सहयोगमा शीप मुलक तालिम ,हाम स्टेय् संचालनदेखि आर्थिक प्रवद्र्धनका लागि ४४वटा भन्दा बढी पोखरीहरु , पाटी पौवा , देय्भोय् छेंँ र बुङगमति संग्रहालय प्रवद्र्धन गर्न सक्षम भएको बताएका थिए । परियोजनाबाट ज्यामी , काष्ठकर्मी ६ सय जना , चित्रकला , दकर्मी ,सिकर्मी ,बिज्ञ मिस्त्री चार सय ४० जना र शीप बिज्ञ ६० जना परियोजनाले तयार गर्न सक्षम भएको जानकारी गराउनुभयो ।

बुंगद्योको आदिभूमि बुंगमती ः
बुँ ले नेपालभाषामा खेत, ग ले अखडा र मती खेतलाई बुङमती भनिएको भनाई रहेपनि पानीको दलदलमा बुङगबाट बुङगमति भनिएको भन्नेपनि पाईन्छ । राजा नरेन्द्र देवको राज्य ई.सं.६४३–६९० ताका काठमाडौमा १२ वर्ष खडेरीबाट हाहाकार मच्चिएछ । कान्तिपुरका आचार्य बन्धुदत्तले भनेछन्–गुरू गोरखनाथ रिसाएर नौ नागको आसन बाँधीदिएका कारण पानी नपरेको हो । यसकालागि रातो मच्छिन्द्रनाथलाई कामरूपकामाक्षा (आसाम)बाट नेपाल ल्याउनुपर्ने सल्लाह अनुसार राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललितज्यापू तण्डुकारले मच्छिन्द्र
नाथलाई नेपाल ल्याउँदा गुरूको सम्मानमा गोरखनाथ उठिदिंदा नाग फुक्का भई वर्षा भएको बताईन्छ । भनिन्छ ,बुंगमतीमा काठमाडौं, ललितपुर र भक्तपुरबाट तीन सय परिवार बसाइएछ । क्षेत्रफल सानो भएपनि मच्छि वहाल, मुननि, तःननि, वरेननि, चाहलननि, गुठननि, मोंखा, इखा, बोंछ ,चाछें , झ्वछे ,पदमपुर, अनरापुर, दिपङ्कर बुद्ध विहार,द्यो क्यवः,बै क्यवः,नाय क्यवः, झुमु ,खाझ, पाउली ,देगचा, जावलाखेल छन् । त्यसैगरी चुनिखेल, सतःटोल, कोटालाछी,ताफः,तातुँ, आगँतुँ, नायतुँ ,नःपुखु ,देपुखु ,खाःपुखु, द्योखाँ ,पनेपुखु ,चोगाँ,न्ह्वथा, खान गाः, स्वेचा,चाँह छन् । भुकम्पपछि यी सम्पुर्ण बस्तीका ६० प्रतिशत भुकम्पपछि भत्केका निजि घर र सार्वजनिक सम्पदाहरु मात्र पुर्ननिर्माण हुन सकेको सो भ्रमणमा जानकारी गराईएको थियो ।

भृङ्गपाद रातो मच्छिन्द्रनाथ बुगद्यो ः
नेपालकै प्रथम बुद्ध सम्मेलनस्थल बुंगमतीमा रातो मच्छिन्द्रनाथको मन्दिर छ । मुगल शैलीमा नौ गजुर २२ ढुंगेस्तम्भ र गजुरमा शंखचक्र गढा पद्म छ । राजा नरेन्द्रदेवद्धारा निर्मित रातो मच्छिन्द्र वहालमा नेपाल सम्पदा संघका अनुसार ने.सं.७९५ र ८९१का अभिलेख छन । राजा श्रीनिवासले नै पाटन तःबहालमा अर्को तीनतल्ले पेगोडाशैलीको मन्दिर बनाई छ–छ महिना पालैपालो बुँगमती र पाटनमा नाथको देवता राख्ने र १२ वर्षमा बुंगमतीबाटै रथारोहण चलाएका हुन । मच्छिन्द्रनाथ वीरपुस्तकालय को कौलज्ञानमा आफु कौल बताएकाछन् ।

ह्यग्रिव भैरव मुननि मनकामनाः

मच्छिन्द्रबहालकै दक्षिण कुनामा दुइतल्ले ह्याग्रिव भैरव मन्दिर ने.सं. ७७० मा निर्मित हो । भनिन्छ,मच्छिन्द्रनाथलाई नेपाल भित्रयाइसकेपछि ह्याग्रिव भैरवलेनै बुंगमतीमा विराजमान गराएका थिए । ह्याग्रिव भैरवबाट ठीक विपरीत अर्धाङिनी मनकामनाको मन्दिर छ । मुननि चोक बुंगमतीका ह्याग्रिव भैरव गोर्खा मनकामना पुग्दा दुवैमा प्रेम बस्न पुगेछ र विवाह गरेछन् । त्यसपछि असल मनकामना यहीं भएको बताइन्छ । चारतले मनकामना मन्दिरको माथि पेगोडाशैलीको एक स्तम्भ र चोकमा ने.सं. ८२९ मा स्थापित बुद्धचैत्य छ ।
बुंगवहिल (अमरावती महाविहार) ः
गोपालराज बंशावलीमा बुंगयायी ग्राम भनिने बुंगमतीलाई लिच्छवीकालमा अपरापुर भनिन्थ्यो । ६ मुख्य पोखरी धर्मपुर,शान्तिपुर, मणिपुर र अमरापुर चार विहारमध्ये अमरावती महाविहारलाई बुंगवहिल भनिन्छ । बौद्ध शिक्षा दिन ने.सं.८०८ मा निर्मित बुंगवहिलको मूलढोकामा ढुंगे सिंह छन् भने ने.सं.९५१मा भिक्षु धर्मसेन्जु प्रभृत्तिद्धारा जीर्णोद्धार गराएका हुन ।

न्हवः गाः र कार्य विनायक ः

चावहिलको चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायकजस्तै बुङमतीको कार्यविनायक हुन । सादा ढुंगा पुजिने कार्यविनायकमा कठिन काम पूरा गराउनकालागि भाकल गर्ने गर्दछन् । बुंगमतीको मुलबस्तीबाट अलि छुट्टै न्हवःगाः छ । ने.सं. ७८१ मा निर्मित मन्दिरको छाना धातुयुक्त छ भने प्रवेशद्वार दायाँबायाँ ढुंगे सिंह,घण्टा,छुचुन्द्रो वरिपरि भोजखाने भजन गर्ने पाटी छन् ।
रोई–रोई बसाएको बस्ती खोकना ः
परियोजनाले खोकनालाई नछाएको भएपनि बुङगमति संगसंगै खोकनाको पनि संयुक्त्त रुपममा प्रवद्र्धन हुन सके सुनमाथि सुगन्ध हुने थियो भन्ने गरेको पाईन्छ । सोहि उदेश्य प्राप्तीको लागि बुङगमतिबाट कार्यविनायक पुग्न एउटा लामो झोलुङगे पुलपनि निर्माण भएको छ भने कार्य विनायकको दर्शन पछि खोकना पुग्न सहजपनि बनाएको छ । तेल उत्पादन केन्द्र खोकनाबारे आख्यानअनुसार शितला रोगले अचेत एक ज्यापु मरेको ठानी काठमाडौं टेकुस्थित बागमतीमा जलाउन लगेछन् । चितामा खाख्दा एक्कासी बाढी आई बगाएर किनारमा फालिदिएछ । होस खुल्दा आफूलाई निर्जन नदी किनारमा पाउँदा ठूलो पीरगरी रून थालेछन् । विक्षिप्त ज्यापूलाई ध्यानाचोमाजुले प्रत्यक्ष दर्शनदिंदै भनिछन् , तिम्रा परिवारले मृत्यु भइसकेको थानी कर्मकाण्डगरिसकेकाले राखिसकेकाले घर फर्कन उचित नहुनेभन्दै अन्तध्र्यान भएछन्। रोईरोई बसाएको बस्तीलाई नेपालभाषामा खोकना भनिएको हो ।

ध्यानाचोमाजु सिकाली अजिमा ः

बस्तीको बीच तीनतल्ले अजिमाको झिंगटीछाने पेगोडाशैलीको मन्दिर छ । ने.सं.५६८मा राजा अमर मल्लले सातसय घरसहित बस्ती व्यवस्थापन गर्दा पीठबाट ल्याई याहाँ प्रतिष्ठापित गराएको हो । आश्विन शुक्ल तृतीया र कात्र्तिक पूर्णिमाका दिन दुईपल्ट खोकनामा पाटन बुबहालका गुरूजु चैत्यराजद्वारा सिकाली गणनृत्य नचाउँछन । भनिन्छ यो नृत्य ने.सं.१६५देखि धीरजनरसिंह आजुले थालनी गरिएको हो । दशैं–तिहार नमनाउने खोकनावासीले टेकुबासी पुर्खाको स्मरणमा १२वर्षे पचली–सिकाली थानमा पूजा गर्ने परम्परा कायमै छ । झिंगटीछाना तीनतल्ले सिकाली अजिमाँको जात्रा अवधिभर खोकना प्रवेशगर्दा जुत्ता लगाएर जान पाईदैन् ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal