
काठमाडौँ । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ।
खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको हो।
छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।
उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो।
मौसमका सुधार नआएपछि हेलिकोप्टर पुन: सुर्खेतमै फिर्ता भएको थियो। यस्तै हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ ।
ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।