आज :

निहारिका राजपुत प्रकरणमा आरोपित युवकले खोले यस्तो सनसनीपूर्ण रहस्य, हेर्नुहोस बयानसहित

  • अनलाइन डबली

सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा छिन् । गत शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उनी अहिले पनि महाराजगञ्जमै उपचारकै क्रममा छिन् ।

आफूलाई ‘बलात्कार’ गरी गर्भवती बनाउने युवकलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग गर्दै निहारिका लामो समयदेखि आन्दोलन गरिरहेकी छन् । आफू अन्यायमा परेको भन्दै न्यायको मागसहित उनी विभिन्न समयमा अनसनसमेत बसेकी छन् । उनको प्रमुख माग भनेको आफूलाई ‘बलात्कार’ गर्ने युवक र जायजन्म भएको बालकको डीएनए टेष्ट गराउने नै हो ।

निहारिकाले बारम्बार डीएनए टेष्टको कुरा उठाइरहँदा आरोपित युवकले पनि आफू डीएनए टेष्ट गराउन तयार रहेको र डीएनए म्याचिङ भए हाँसीखुसी निहारिका र बालकलाई अपनाउने बताएका छन् । त्यति मात्रै हैन उनले निराहरिका एकै समयमा २/२ जना पुरुषसंग रिलेशनमा रहेको र अर्का प्रेमीको नामको ट्याटु हटाउन २ लाख मागेपछि विवाद भएको रहस्य खोलेका छन् ।

शिवराजको भनाइको सारांश यहाँ प्रस्तुत गरिएको छ–

सोनाली कुमारी सिंहसँगको प्रेमको सुरुवात
करिब ४ वर्ष अगाडिको कुरा हो, म जनकपुरकै एक मोबाइल वितरककोमा काम गर्थेँ । त्यतिबेला चल्तीमै रहेको एक मोबाइलको होलसेलरमा काम गर्दै गर्दा सोनाली कुमारी सिंह (निहारिका)सँग भेट भएको थियो । म काम गर्ने मोबाइल कम्पनीमा धेरै कर्मचारी थिए, त्यसमध्ये सोनालीको एक साथी पनि त्यहीँ काम गर्थिन् । सोनाली तिनै साथीलाई भेट्न आउँथिन् र त्यसैक्रममा मेरो उनीसँग चिनजान भएको हो ।

उनी त्यतिबेला काठमाडौँमा बस्थिन् र बेलाबेलामा जनकपुरमा आउँथिन् । उनको घर जनकपुर नजिकै थियो, तर उनी प्रायः साथीकै कोठामा बस्थिन् । घर किन नगएको भन्दा ‘आमा बितिसक्नुभयो, घरमा बुबाले कान्छी आमा ल्याउनुभएको छ । कान्छी आमाले रिस गर्ने भएकाले घरमा जाँदिनँ’ भन्थिन् । मलाई होला भन्ने लाग्यो ।

यही बीचमा हामी फेसबुकमा जोडियौँ र कुराकानी हुन थाल्यो । हामीबीच मायाप्रेमको कुरा पनि हुन थाल्यो । मैले उमेर सोध्दा १९ वर्ष लागेँ भन्थिन् । म २० वर्ष लागेको थिएँ । उनी त्यतिबेला काठमाडौँमा बसेर बीएचएमका लागि तयारी गर्दैछु भन्थिन् । उनी बेलाबेलामा जनकपुर आउँथिन् ।

त्यतिबेला हाम्रो भेटघाट हुन्थ्यो, मायाप्रेमको कुरा हुन्थ्यो । उनी साथीको कोठामा बस्छु भन्थिन्, मैले धेरै सोधखोज गरेको थिइनँ । सन् २०१८ को अक्टोबरमा उनी काठमाडौँबाट जनकपुर आइन् । मोबाइलमा अफर पनि रहेका कारण हाम्रो कम्पनीको मोबाइलको बिक्री बढी नै थियो र म व्यस्त नै थिएँ । त्यही समय एक दिन सोनालीले सँगै डिनर खाउँ भनिन् । मैले व्यस्त भएकाले आउन अबेर हुने बताएँ । उनले ‘डिनर बेलुका नै खाने त हो नि’ भनिन् । म बेलुका ८ बजेतिर डिनर खान गएँ । त्यही समयमा आफ्नी प्रेमिका चिनाउँछु भनेर मैले बहिनीलाई पनि बोलाएँ ।

हामीले उक्त दिन सँगै डिनर गर्‍यौँ र उनी साथीको कोठामा गइन् । म र बहिनी घर गयौँ । त्यसपछि हामीबीचको प्रेम अझ प्रगाढ भयो र हामी उमेर पुगेपछि विवाह गर्नेसम्मको कुरामा पुगेका थियौँ । यही बीचमा म मोबाइल कम्पनीको कामको सिलसिलामा काठमाडौँ गएको थिएँ । त्यतिबेला पनि उनीसँग भेट भएको थियो । उनी अन्य साथीसँग रुम सेयर गरेर बस्ने रहिछन् । उनले बीएचएमको तयारी गर्दै छु भनेको कुरा पनि गलत रहेछ । मैले त्यो कुरा गर्दा ‘कहाँ भन्नेबित्तिकै हुन्छ र’ भन्ने जवाफ दिइन् । मैले त्यसपछि उनलाई त्यसबारे केही सोधिनँ । उनी काठमाडौँमा बसेर पढ्दैछु, आवश्यक खर्च बुबाले पठाउनुहुन्छ भन्थिन् । तर मैले त्यसबारे धेरै सोधखोज गरिनँ ।

उनी बेलाबेलामा जनकपुर आइरहन्थिन् । त्यही क्रममा उनी २०१८ को डिसेम्बरमा फेरि जनकपुर आइन् । न्यु इयर र क्रिसमसको समय भएकाले मोबाइलको व्यापार पनि राम्रै थियो र हामीलाई पनि कम्पनीले केही ‘इन्सेन्टिभ’ दिएको थियो । त्यतिबेला मसँग नियमित आम्दानीबाहेक थप रकम पनि थियो । उनलाई जनकपुर आउन मन लाग्यो भने फ्लाइटको टिकट काट्न भन्थिन्, मसँग पैसा भएको समयमा मैले टिकट काटिदिने गरेको थिएँ । उक्त समयमा पनि उनले आउन चाहेको बताएपछि मैले जहाजको टिकट काटेर पठाइदिएँ र उनी जनकपुर आइन् । त्यतिबेला उनीसँग म तीनचार दिनसम्म सँगै बसेको हुँ र त्यतिबेला शारीरिक सम्पर्क पनि भएको हो ।

‘मनिष’ नामको ट्याटु देखेपछि तनाव
हामीबीच शारीरिक सम्पर्क हुने समयसम्म आपसमा मायामा डुबिसकेका थियौँ । माया गरेको मान्छेप्रति स्नेह, ईस्र्या, शंका सबै हुने नै भयो । त्यही क्रममा मैले उनको गर्धनको पछिल्लो भागमा (ढाडको ठीक माथि) ‘मनिष’ नामको ट्याटु देखेँ । ‘लभ मनिष’ लेखेको ट्याटु देखेपछि मलाई साह्रै नरमाइलो लाग्यो र मैले उक्त ट्याटुबारे सोधेँ । उनले मनिष आफ्नो पूर्व प्रेमी रहेको र ऊसँगकै प्रेमका क्रममा उसको नामको ट्याटु बनाएको भएको बताइन् । आफूले पूर्व प्रेमीलाई असाध्यै माया गरेको तर उसले धोका दिएको उनको भनाइ थियो । उनले उक्त ट्याटु मेटाउने र शिवको नामको ट्याटु बनाउने पनि बताइन् ।

उनको विगत हो भनेर मैले त्यस विषयमा थप कुरा केही गरिनँ किनभने उनले नै ट्याटु मेटाउने कुरा गरिसकेपछि मैले अरू कुरा गर्नु ठीक पनि थिएन र गरिनँ । तर त्यसको दुई दिनपछि नै उनकै फेसबुक आइडीबाट केही आपत्तिजनक तस्बिरहरू प्रकाशित भयो । ‘निहारिका राजपुत फिलिङ लभ्ड विथ ….’ भनेर त्यही मनिष नाम गरेका व्यक्तिसँग चुम्बन गरेको तस्बिर प्रकाशन गरिएको थियो ।

पहिले प्रेम भएको तर छुटिसकेको भनिएको व्यक्तिले चुम्बन गरेको फोटो राखिसकेपछि मैले त्यस विषयमा उनीसँग सोधेँ । उनले ‘आई स्टील लभ हिम’ भन्ने जवाफ दिइन् । त्यसपछि उनीसँग प्रेम गरिरहनु ठीक होइन भन्ने मलाई लाग्यो र छुट्टिने कुरा गरेँ । त्यो रातको समय थियो र उनले भोलि बसेर कुरा गर्ने बताइन् ।

भोलिपल्ट हाम्रो भेटघाट भयो र सो विषयमा झगडा पनि पर्‍यो । उनले अब मनिषसँग कुरा नगर्ने र भेटघाट पनि नगर्ने बताइन् । तर उनले मदिरा सेवन गर्ने गरेको र चुरोट पनि खाने गरेको कुरा थाहा पाएपछि मैले उनीसँग छुट्टिन चाहेको बताएँ । उनी मसँग छुट्टिन पनि चाहन्नथिन् र मनिषसँग पनि उनको सम्बन्ध थियो । उनी दोहोरो सम्बन्धमा रहेको थाहा पाएपछि मैले उनीसँगको सम्बन्ध तोड्न खोजेको थिएँ र त्यही कुरा उनलाई बताएको थिएँ ।

… अनि निहारिकाले आत्महत्याको प्रयास गरिन्
उनको बानी व्यहोरामा खराबी र सम्बन्धमा इमानदारिता नपाएपछि मैले उनीसँग सम्बन्ध तोड्छु भनेँ । हामी त्यो बेला साँझको समयमा गंगासागर नजिकै बसेर कुराकानी गरिरहेका थियौँ । जब म अब सम्बन्धमा रहँदिनँ भने, त्यसपछि उनले त्यही गंगासागरमा फाल हानिन् । त्यो ताल गहिरो भएको र मैले आफूले पौडी खेल्न नजानेका कारण उद्धारका लागि म जान सकिनँ । सुरुमा उनले बचाउ–बचाउ भने पनि कोही उनलाई उद्धार गर्न गएन । त्यसपछि उनी आफै पौडिएर तालको बाहिर आइन् । त्यसपछि मैले मेरै ज्याकेट ओढाइदिएँ । उनीसँग त्यतिबेला अरू कुरा गर्न हुँदैन भन्ने लागेर म उनलाई साथीको कोठामा पुर्‍याएर फर्किएको हुँ । तत्कालीन समयमा थप क्षति हुनबाट रोक्न उनलाई फेरि माया गर्छु भनेकै हो ।

थाइल्याण्ड वा अस्ट्रेलिया गएर ट्याटु मेटाउन साढे २ लाख माग
त्यसपछि उनी फेरि काठमाडौँ आइन् भने म जनकपुरमै काम गर्न थालेँ । उनले मनिष नामको ट्याटु मेटाउन साढे २ लाख रुपैयाँ माग गरिन् । तर म निम्न मध्यम वर्गको मान्छे, कमाएर खाने व्यक्ति भएका कारण मसँग त्यति धेरै पैसा थिएन । मैले ‘मेरो त्यति धेरै पैसा दिने हैसियत छैन’ भनेँ । उनले उक्त ट्याटु मेटाउन थाइल्याण्ड वा अस्ट्रेलिया नै जानुपर्ने र नेपालमा नहुने भन्दै बारम्बार पैसा मागिरहिन् । मैले हैसियतभन्दा बढी पैसा कहाँबाट दिन सक्थेँ र ! त्यसकारण मैले त्यति धेरै पैसा दिन सक्दिनँ भनेँ ।

उनले बारम्बार पैसा माग्दा पनि मैले पैसा दिन नसकेपछि उनले मेरो आमालाई नै भेटेर तपाईंको छोराले मलाई गर्भवती बनाएको छ, म बुहारी बनेर आउँछु, नभए मलाई ट्याटु मेटाउन साढे २ लाख रुपैयाँ दिनुस् भनिछन् । त्यतिबेला उनले आफ्नो उमेर १७ वर्षमात्रै रहेको बताएकी रहिछन् । त्यसपछि मेरो आमाले अहिले बच्चा जन्माउन मिल्दैन, गर्भपतन गराऊ र ट्याटु मेटाएर आऊ, अनि म बुहारी बनाएर भित्र्याउँछु भन्नुभएको रहेछ । तर उनले त्यो कुरालाई पनि ट्वीष्ट गरेकी छन् । मेरो आमाविरुद्ध समेत केस गरेर उनले केही दिन आमालाई पनि थुनाएकी छन् । खासमा यो विवादको सुरुवात भनेको मनिष नामको ट्याटु, मनिषले चुम्बन गरेको फोटो फेसबुकमा पोष्ट गर्नु र ट्याटु मेटाउन भन्दै साढे २ लाख माग्दा नदिएपछि नै भएको हो । त्यही कारण यतिबेला दुई परिवार तनावमा छ, तीन जनाको भविष्य अन्धकार भइरहेको छ ।

अनि गरिन् गर्भवती बनेको कुरा
हाम्रो झगडा परेको करिब एक महिनापछि होला, उनले काठमाडौँबाटै फोन गरिन् र आफू गर्भवती भएको कुरा बताइन् । ‘म तिम्रो बच्चाको आमा बन्दै छु, मलाई लिन आऊ’ भनिन् । त्यो कुरा २०७६ माघ १० गतेको कुरा हो । म आफै काठमाडौँ गएर किष्ट अस्पतालमा प्रेग्नेन्सी टेष्ट गराएँ । त्यतिबेला ९ हप्ताको गर्भ रहेको रिपोर्ट आयो । त्यसपछि मलाई झनै तनाव भयो । हामीले विवाहसमेत नगरेको कारण बच्चा जन्माउने कुरा सामाजिक दृष्टिकोणले पनि सम्भव थिएन । त्यसैले मैले गर्भपतन गराऊँ, पछि विवाह गरौँ भनेको थिएँ । तर उनले मानिनन् र कुमारी आमा बनेरै भए पनि बच्चा जन्माउने जिद्दी गरिन् ।

आफूलाई तत्कालै विवाह गरेर लैजान उनले दबाब दिए पनि म उनलाई तत्काल विवाह गरेर लैजान सक्ने अवस्थामा थिइनँ । उनले बच्चा जन्माउँछु भनेपछि मेरो केही लागेन र म जनकपुर फर्किएँ । त्यसपछि उनी जनकपुर आएर मेरो आमालाई भेटेर साढे दुई लाख रकम मागेर घरमा भित्र्याउन दबाब दिएकी हुन् ।

जागिरबाट समेत निकाल्दिए
जब उनी गर्भवती बनिन्, त्यसपछि उनले प्रत्येक दिन मसँग झगडा गर्न थालिन् । श्रीमती बनाएर घरमा लैजान दबाब दिन थालिन् । मैले घर लैजान सक्दिनँ, बरु बच्चा मेरो होइन, डीएनए टेष्ट गरौँ भनेँ । उनले त्यतिबेला गर्भको डीएनए टेष्ट गराउन मानिनन् । बरु म काम गर्ने संस्थामा आएर प्रत्येक दिन झगडा गर्न थालिन् । मेरो कम्पनीले मलाई कामबाट पनि निकालिदियो । अनि म बेरोजगार बनेँ ।

जिल्ला प्रहरीमा छलफल, नक्कली ‘दाइ’ बनाएर स्थानीय युवालाई ल्याइन्
यही बीचमा उनले जिल्ला प्रहरी कार्यालय धनुषामा म र आमाविरुद्ध उजुरी गरिन् । नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरिपाऊँ भन्दै उनले निवेदन दिएपछि प्रहरीले हामीलाई बोलायो । उनको परिवारका सदस्यलाई पनि छलफलमा बोलायो । प्रहरीले बुबा, आमा, काका, मामा को–को छन् बोलाउनुस् भन्दा उनले बजारकै एक केटालाई ‘दाइ’ भन्दै बोलाएकी रहिछन् । प्रहरीले त्यो केटा र निहारिकालाई गाली गर्दै फिर्ता पठाएर अर्को साता परिवारसहित आउन भन्यो ।

त्यसपछि अर्को पटकको छलफलमा उनले आफ्नो बुबालाई ल्याउने भनेकी थिइन् । तर बुबा आउन नमानेपछि प्रहरी आफै गएर उनको बुबालाई ल्याएको थियो । त्यसपछि उनको बुबाले ‘यसको कारणले हाम्रो साह्रै बेइज्जत भयो, पटकपटक यस्तै कुराले चौकी आउनुपर्छ’ भन्दै अब कुनै चासो र चिन्ता नरहेको बताए । त्यतिबेला रमेश बस्नेत एसपी हुनुहुन्थ्यो जस्तो लागेको छ । अनि उनले आमाको मृत्यु भइसकेको र बुबाले कान्छी श्रीमती ल्याएको भनेको कुरा पनि झुटो रहेको थाहा भयो । उनको आमाको मृत्यु भएको रहेनछ । काठमाडौंमा पढ्न पठाएको र बुबाले खर्च दिइरहको कुरा पनि झुटो रहेछ । उनी पहिलेदेखि नै घर छाडेर हिँड्ने र कहिलेकाहीँ मात्रै घरमा आउने गरेकी रहिछन् । उनकै बुबाले प्रहरी कार्यालयमा भनेपछि मात्रै हामीलाई त्यो कुरा थाहा भयो ।

प्रहरी कार्यालयमै उनले ओरेक भन्ने संस्थाकी कर्मचारी, महिला आयोगको कर्मचारी पनि लिएर आएकी थिइन् । त्यतिबेला पनि मैले डीएनए टेष्टको कुरा निकालेको थिएँ । तर महिला अधिकारवादीले ‘किन चाहियो डीएनए टेष्ट ?’ भन्दै मेरो प्रस्ताव अस्वीकार गरे । अहिले उनले डीएनए टेष्टको कुरा गर्नुको पछाडिको कारण नै मैले बुझेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा उनको बुबाले नै उनलाई गाली गरेपछि हामी सबै आ–आफ्नै बाटो लाग्यौँ । त्यसको १०–१५ दिनपछि उनले फेरि हक अधिकारको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइछन् । त्यसपछि पनि छलफल भयो र विवादको टुङ्गो लाग्न सकेन । त्यसपछि उनले मविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् ।

जबरजस्ती करणीको जाहेरीपछि फरार, उपस्थित भएपछि पुर्पक्षका लागि थुनामा
जब निहारिकाले मविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन्, त्यसपछि म भाग्न बाध्य भएँ । अदालतमा मुद्दा चलेपछि म फर्किएर अदालतमा उपस्थित भएँ । अदालतले मलाई पुर्पक्षका लागि थुनामा पठायो ।

म बलात्कारी होइन
उनले मविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि अदालतले मलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो, जबकि त्यो जबरजस्ती करणी थिएन । यौनसम्बन्ध स्थापित गर्नका लागि हामी दुवैको उमेर पुगेको थियो र हामीबीच आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको थियो । यतिसम्म कि पहिलोपटक यौनसम्बन्ध राख्ने समयमा अपिलसमेत उनले नै गरेकी थिइन् र मैले कुनै जोर जबरजस्ती गरेको थिइनँ ।

अहिले त उनले म तथा मेरा परिवारविरुद्ध अनेक कुरा बोलिरहेकी छन् । म आजको दिनसम्म पनि चुप थिएँ, अब बोल्नैपर्ने अवस्था आएर बोल्न थालेको छु । बिचरी मेरी बहिनीमाथि पनि उनले अनेक आरोप लगाएकी छन् । मेरी बहिनी र उनी साथी नै होइनन् । मेरो उमेरभन्दा उनको उमेर बढी छ भने म र मेरी बहिनीको उमेरमा ४ वर्षको अन्तर छ । अनि मेरी बहिनी कसरी उनको साथी बनिन् ? बरु मैले नै मेरी ‘गर्लफ्रेण्ड’ भनेर बहिनीलाई चिनाएको हुँ ।

उनले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दाबी गर्न थालेकी छन्, यो नयाँ फण्डा हो । पहिलो कुरा त हामी प्रेममा रहेको कुरा दुवै जनाले स्वीकार गरिसकेका छौँ । जिल्ला अदालतमा मैले बयान दिँदा पनि मैले जबरजस्ती करणी गरेको छैन भनेको हो र मैले उनलाई कहिल्यै जबरजस्ती करणी गरेको पनि छैन । प्रेम सम्बन्धमा हुँदा आपसी सहमतिमै भएको शारीरिक सम्पर्क कुन कानुनका आधारमा जबरजस्ती करणी भयो, मलाई पनि बुझाइदिनुपर्‍यो । अहिले अन्य बाटो बन्द हुन थालेपछि उनले नशालु पदार्थ खुवाएर बलात्कार गरी गर्भवती बनाएको आरोप लगाएकी छन् । अनि केही अभियन्ताहरु आफैले देखेको झैँ गरी समर्थन गरिरहेका छन् । कमसे कम उनीहरूले मसँग भेटेर वा कुरा गरेर क्रस भेरिफाई पनि त गर्न सक्थे । तर सबै पक्ष उनको बनावटी कुरा सुनेर मेरोविरुद्ध लागिपरेका छन् ।

कुनै महिला रोइदियो भने उनले भनेको सबै कुरा साँचो हुने र पुरुष पुरै खराब, बदमास र बलात्कारी नै हुने हो त ? सडकमा तमासा देखाएर, आँसु बिकाएर उनले भनेको ‘न्याय’ खोजिएको हो भने मलाई भन्नु केही छैन । मलाई बलात्कारी ठहर गरे मात्रै उनले न्याय पाउने भनेको के हो ? उनले न्याय पाउन मलाई अदालतले जबरजस्ती बलात्कारी बनाइदिनुपर्ने ? म जेल गएपछि उनले न्याय पाउने हुन् ? म जेल जाँदा उनले भनेको न्याय पाउने आधार के हो ? प्रेममा हुँदा भएको सहमतिको सम्बन्धलाई बलात्कार ठहर गर्न थाल्ने हो भने पुरुषहरू त जेलमै थन्किने भए अनि महिलाहरूले जति अपराध गरे पनि आँसु बगाएपछि पीडित बन्ने यो कस्तो कानुन हो, यो कस्तो समाज हो ?

त्यसकारण बुझ्नुपर्ने कुरा के हो भने उनीसँग प्रेम सम्बन्धमा हुँदा यौनसम्बन्ध रहेको कुरालाई म अस्वीकार गर्दिनँ । मैले कुनै धाकधम्की दिएर यौनसम्बन्ध बनाएको होइन । जतिबेला म उनीसँग प्रेम सम्बन्धमा थिएँ, म डेडिकेटेड भएरै प्रेम गरेको थिएँ, बरु उनले नै एक पटक आफैलाई हेर्ने कि– के गरेँ, के गरिनँ भनेर ?

त्यसकारण उनी आफैले अपिल गरेर बनाएको यौनसम्बन्ध पनि बलात्कार हो भने मलाई थप भन्नु केही छैन । यदि होइन भने मैले उनीमाथि बलात्कार गरेको छैन, म बलात्कारी होइन ।

डीएनए टेष्टका लागि तयार छु, म्याचिङ भए हाँसीखुसी स्वीकार गर्छु 
अहिले उनले सडकबाट डीएनए टेष्टको कुरा गरिरहँदा मलाई अचम्म लागेको छ । यो कुरा त मैले सुरुवात मै भनेको हुँ । मैले डीएनए टेष्टको माग गरेकै हुँ, तर त्यतिबेला महिला अधिकारवादी र उनले नै मेरो प्रस्ताव अस्वीकार गरेकी हुन् । उनले डीएनए टेष्ट चाहन्छिन् भने म त्यसका लागि तयार छु । डीएनए टेष्टमा म्याचिङ भएमा म उनी र उनीबाट जायजन्म भएको बच्चालाई स्वीकार्न हरदम तयार छु । तर यदि डीएनए म्याचिङ भएन भने त्यसपछि के हुन्छ भन्ने निर्क्योल पनि पहिले नै हुनुपर्छ । म जीवनभर पीडामा रहन चाहँदिनँ । मेरो पनि बाँच्ने अधिकार छ, हिँडडुल गर्ने अधिकार छ । तर म बाहिर निस्कन सकेको छैन । दुनियाँका नजरमा मलाई जबरजस्तरुपमा बलात्कारी बनाइएको छ । यो मेरो सामाजिक क्षतिको भरपाई कसले गर्छ ?

अहिले उनको अवस्था देख्दा कहिलेकाहीँ म आफैलाई दुःख लाग्छ । उनले पाएको दुःख देख्दा कहिलेकाहीँ माया पनि लाग्छ । तर उनले दिएको दुःख, मलाई दिएको हैरानी, बलात्कारी ठहर गराउन दिइएको दबाब देख्दा फेरि दुःख लाग्छ । अहिले त म मेरै परिवारबाट पनि तिरस्कृत भएको छु । कहिलेकाहीँ त म आत्महत्या गर्न मन लाग्छ । तर आफूलाई बलात्कारी होइन भनेर प्रमाणित गर्न पनि म बाँच्नैपर्ने दबाबमा छु । म पलपल मरेको छु, यो कुरा कसैले देखेको छैन । बरु उनलाई बोकेर हिँड्नेहरूले के कति उद्देश्यले मविरुद्ध यति धेरै गलत प्रचार गरिरहेका छन्, त्यो बुझ्न सकिरहेको छैन ।

उनलाई सडकमा अनसन बस्न उचाल्नेहरुले बरु उनका लागि मनोपरामर्श सेवा र आर्थिक उपार्जनमा सहयोग गरिदिए उत्तम हुन्थ्यो होला । त्यो सानो बालक र उनको अवस्था झन्झन् नाजुक बन्दै छ । अहिले त करिश्मा मानन्धरले पनि जिम्मेवारी नलिने भन्दै छाडिदिनुभयो भन्ने सुनेको छु । अन्तिममा अन्य अभियन्ताले पनि छाडिदिन्छन् र उनको अवस्था झनै नाजुक बन्छ । त्यसकारण उनको राम्रो भविष्यको म कामना गर्छु । राताेपार्टीबाट साभार

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal